
झापा । लोपोन्मुख मेचे समुदायले आफ्नो राष्ट्रिय पर्व वैशागु बथरको अवसरमा मेचीनगरमा वृहत् जनसांस्कृतिक कार्यक्रम गरेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा वैशाख ३ गते धाइजनमा वैशागु बथर पर्व मनाएको हो । सो कार्यक्रममा मन्तब्य राख्दै सभामुख घिमिरेले नेपालको मौलिक पर्व, परम्परा र विविध संस्कृतिको संरक्षण सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट उपहार भएको बताए ।
वैशागु बथर तथा वृहत् जनसांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सभामुख घिमिरेले सबै जातजातिको धर्म, संस्कृति, रीति रिवाज खुला रूपमा मनाउन पाउनु गणतन्त्रको देन भएको बताए ।
सभामुख घिमिरेले संविधान सभाबाट घोषित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अघि बढ्नुपर्ने बताउँदै नेपाल विभिन्न जातजातिको साझा थलो भएको प्रष्ट पारेका थिए ।
यसमा सबैको धर्म, संस्कृति, पहिचानलाई समान महत्व दिएर मात्र राष्ट्र बलियो र समृद्ध बन्ने उनको भनाइ थियो ।
सभामुख घिमिरेले जातीय सौहार्द बिगार्न खोज्ने तत्वबाट सजग रहनसमेत आग्रह गर्दैै भने “लोपोन्मुख जातिहरू जोगिएनन् भने राष्ट्रिय मौलिकता हराउने खतरा रहन्छ । मेचे समुदायजस्ता लोपोन्मुख जातिको संरक्षण राज्यको दायित्व हो ।”
मेचे समाज शिवियारी आफात केन्द्रीय कार्यसमितिको आयोजनामा भएको कार्यक्रममा सभामुख घिमिरेले मेचे भवनको समेत उद्घाटन गरिदिएका थिए ।
राष्ट्रिय जनगणना २०७८ अनुसार पाँच हजार १९३ जनसङ्ख्या रहेको मेचे समुदायको बसोबास झापाका नौ स्थानीय तहमा मात्र छ । मेचीनगरमा करिब दुई हजार जनसङ्ख्या रहेको छ ।
‘लोपोन्मुख आदिवासी जनजाति मेचे समुदायको आह्वानः पहिचानसहित संरक्षित क्षेत्र स्थापना गर्ने हाम्रो अभियान’ भन्ने मुख्य नारासहित आयोजना भएको कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा सामुदायिक सशक्तीकरणका सन्देश प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा एसइई परीक्षामा मेचे समुदायबाट उत्कृष्ट अङ्क ल्याउने आइस्था मेचे, दीपा मेचे, अञ्जली मेचे, गरिमा मेचे र प्रकृति मेचेलाई सम्मान गरिएको थियो ।
साथै, नवनिर्मित भवनका लागि जग्गा दान गर्ने नरेन्द्र मेचे गछम, बुद्धलाल मेचे र विशु मेचेलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।