
शिवसताक्षी । झापाको शिवसताक्षीमा बसोबास गर्ने राजवंशी समुदायले धुमधामका साथ सिरुवा पर्व मनाएका छन् ।
चन्द्रडाँगीमा आदिवासी समुदादयले आयोजना गरेको बृहत सिरुवा पर्व कार्यक्रमको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले नगरभित्रका सबै जातजाति भाषा, धर्म र सबैको मौलिक पर्वहरुलाई समान ढंगले हेरेको बताए । उनले नगरपालिकाले सिरुवा पर्वलाई पनि यहाँका आदिबासी नागरिकहरुलाई उल्लासका साथ मनाउन आज नगरमा स्थानीय विदा गरिएको जानकारी दिए ।
उनले हरेक मौलिक पर्वहरुलाई मनोरञ्जनका रुपमा मात्र नहेरी आफ्ना पुख्र्यौली पेशा, धर्म, संस्कृतिहरुलाई नयाँ पुस्तालाई हस्तान्तरण गर्दै लौजानु पर्ने बताए । ‘यदि यस्ता पर्वहरुलाई वा कार्यक्रमहरुलाई मनोरञ्जनको रुपमा मात्र लिने हो भने एक दिन मौलिक पर्व र संस्कृतिहरु लोप भएर जानेछन्’ नगरप्रमुख थोप्राको भनाई थियो ।
त्यस्तै शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की सिरुवा पर्वको अवसरमा शुभकामना दिँदै सिरुवा पर्वको आज तेस्रो दिनलाई पनि हर्षोल्लाका साथ मनाउन सबैलाई आग्रह गरिन् ।
यो एउटा मौलिक पर्व भएकाले यसको जर्गेना गर्न सबै लाग्नु पर्छ । उनले भनिन् ‘सबै जात जाति भाषा धर्म, संस्कृति नै राष्ट्रको सम्पति हो । यो पर्व पछिल्लो समय निश्चित जातिको मात्र नभई सबै जातजातिहरुको साझा पर्वको रुपमा मनाउन थालिएको छ ।’
कार्यक्रममा राजवंशी समुदायको भेषभुषामा सजिएर विभिन्न गीतहरु तथा नृत्यहरु प्रस्तुत गरिएको थियो । राजवंशी समुदायकी गायिका पिङ्की राजवंशी, स्थानीय कलाकार सानाहाङ्ग लिम्बूले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ७ का वडा सदस्य पूजा नेपाली, ज्येष्ठ नागरिक नगर अध्यक्ष अम्बिका अधिकारी, शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक खगेन्द्र घिमिरे, वडा नं. ७ का पूर्व वडाध्यक्ष नविन इजम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।