
काठमाडौं । शिक्षक महासंघले शिक्षकको आन्दोलन नरोकिने प्रतिक्रिया दिएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहेको भन्दै नियमितझैँ मध्याह्न १२ बजे माइतीघर मण्डलामा आइपुग्न शिक्षकहरूलाई आग्रह गरेका छन्।केही बेरअघि सामाजिक सञ्जालमा लेखेर सुवेदीले आफूहरूले उठाएका मागप्रति राज्य अझै अनुदार रहेको भन्दे उनले आन्दोलन निर्णायक मोडमा आइपुगेको प्रतिक्रिया दिएका छन्। ‘ हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ। त्यसैले अझ बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन’, उनले लेखेका छन्, ‘अब हामी निर्णायक मोडमा आइपुगेका छौँ। ’
उनले आन्दोलन अझ सशक्त बनाउन दशभरका शिक्षकलाई आह्वान गरेका छन्। अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनसमेत शिक्षकहरूलाई आग्रह गरेका छन्।
देशभरका शिक्षक १५ दिनदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन्। उनीहरूले एसईईको उत्तरपुस्तिका जाँच र कक्षा १२ को परीक्षासमेत बहिस्कार गरेका छन्।यसअघि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकलेविद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन छाडेर विद्यालय फर्किन शिक्षकहरूसँग आग्रह गरेको थियो।
संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्ने समेतका प्रयोजनका लागि समेत अधिवेशन आह्वान गर्न सिफारिस गरेको सरकारले बताएको छ।