
काठमाडौं । २०८१ सालमा देशमा चट्याङ लागेर ७८ जनाको ज्यान गएको छ । २०८१ सालको वैशाख १ गतेदेखि चैत्र २९ गतेसम्मको अवधिमा देशभर ४१८ वटा चट्याङको घटना भएकोमा ७८ जनाको ज्यान गएको र ३०९ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
नेपालमा खासगरी प्रि–मनसुनको समयमा अर्थात् मध्य फागुनदेखि मध्य जेठ महिनासम्म चट्याङ पर्ने सम्भावना धेरै हुन्छ । आकाशमा बिजुली चम्केर गड्याङगुडुङ आवाजसहित पर्ने चट्याङले वर्षेनि ठूलो जनधनको क्षति पुर्याइरहे पनि क्षति न्यूनीकरणका लागि पर्याप्त काम हुन सकेको छैन । बिजुली तथा विद्युतीय सामग्रीको उपयोग बढेसँगै चट्याङबाट हुने मृत्यु र घाइतेको सङ्ख्या पनि बढिरहेको छ ।
अग्ला टावर र भवन, बिजुलीको खम्बा, रुख र पहाडको टाकुरामा चट्याङको जोखिम धेरै हुन्छ । चट्याङबाट जोगिन घर र भवनहरू बनाउँदा राम्ररी अर्थिङ गर्ने, आकाशमा गड्याङगुडुङ गर्न थालेमा टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल बन्द गर्नेलगायत सावधानी अपनाउन विज्ञहरूको सुझाव छ ।
चट्याङ परेको समयमा सुक्खा ठाउँमा बस्नुपर्छ । भित्ता, सिमेन्टको भुइँ र झ्यालमा टाँसिनु हुँदैन । चट्याङ परेको आधा घण्टासम्म बाहिर नजानु हुँदैन । घर बाहिर भएमा बिजुली र रुखबाट टाढा बस्नुपर्छ । खोला, पोखरी, तरबार गरिएको ठाउँको नजिक पनि जान हुँदैन ।