२०८२ वैशाख २, मङ्गलवार , १०:१३:२६ बजे

Sajhamanch
'

‘अँध्यारो भित्र उज्यालो देख्नेहरुको नतिजा संजिवनी इन्भेष्टमेण्ट कम्पनी’

आइतवार, चैत ३१, २०८१

झापा । बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेर न्यून ब्याज लिँदै गरेका समूहलाई लक्षित गरी लगानीका अनेकन स्रोतहरु र सम्भावना बोकेर स्थापित बिर्तामोड संजिवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको शनिबार औपचारिक शुभारम्भ गरिएको छ ।

कोशी प्रदेश सभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यमा शनिबार बिर्तामोडमा आयोजित विशेष कार्यक्रम बाट कम्पनीको विधिवत उद्घाटन गरिएको हो ।

कम्पनी उद्घाटन समारोहका प्रमुख अतिथि प्रदेशसभा सदस्य पाठकले इन्भेष्टमेन्ट कम्पनी खोल्ने सोच बनाउने र यसलाई मूर्तरुप दिन भूमिका खेल्ने सबैलाई बधाई ज्ञापन गर्दै मुलुकको समृद्धिको यात्रामा यसले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

नेपालको संविधानले तीन खम्बे मुलुकी अर्थतन्त्रको परिकल्पना गरेकोले निजी क्षेत्रबाट यसको कार्यान्वयनमा भूमिका खेल्दा व्यक्तिसँगै मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्ने उनको भनाई थियो ।

इन्भेष्टमेन्ट कम्पनीका उद्देश्यहरु हेर्दा यसले पर्यटन ब्यवसायमा पनि लगानी गर्न सक्ने देखिएको र कोशी प्रदेशमा बहुधार्मिकस्थलहरु प्रसस्त रहेकाले यसतर्फ व्यवसायिक सोच बनाउन सुझाव दिए । खोटाङको हलेँसी हिन्द्र, बौद्ध र किरात धर्मावलम्बीहरुको, ताप्लेजुङको पाथीभरा हिन्दू र किरातको, इलामको माङ्सेबुङ किरातको पवित्र धार्मिक स्थलहरु भएकाले पर्यटन उद्योगमा लगानी गरी धार्मिक पर्यटक भित्राएर ब्यवसाय गर्न सकिने सुझाए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पाठकले कोशी प्रदेश सरकारले वि.सं. २०८२ लाई कोशी पर्यटन वर्षका रुपमा सुरु गरेकाले कम्पनीको मार्फत यही वर्ष काम गर्ने अवसर रहेको स्मरण गराए ।

यसैगरी आगामी बैशाख १८ – १९ मा कोशी प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएकाले कम्पनीका तर्फबाट सहभागी बनेर लगानी सुनिश्चित गर्न, लगानीकर्ताहरुलाई व्यवसायिक लाभ दिलाउन तथा मुलुकको समृद्धिमा टेवा पुर्याउन प्रदेशसभा सदस्य पाठकले आह्वान पनि गरे ।

सो कार्यक्रममा विशिष्टि अतिथि कोशी प्रदेशसभा सदस्य छविलाल चुडालले इन्भेष्टमेन्ट कम्पनीका सञ्चालकहरुलाई आर्थिक मन्दीको कठिन अवस्थामा पनि अँध्यारो भित्र उज्यालो देख्ने र सम्भावनाको खोजी गर्न सक्षम रहेको भन्दै प्रशंशा गरे ।

नेपालमा केही हुँदैन र छैन भन्ने भाष्य सिर्जना गर्दै कक्षा १२ पढिनसक्दै विदेशको सपना देखाएर वा देखेर आफ्ना छोराछोरीहरुलाई मानसिक कमजोर बनाइरहेका बाबुआमाले संजिवनीको टिमसँग बसेर सपना देख्न सांसद चुडालले सुझाव दिए ।

सही समयमा सही निर्णय लिने हो भने आजका दिनसम्म पनि लगानीका लागि नेपाल सम्भावनाको खानी हो भन्दै सांसद चुडालले झापाको उत्तरी गाउँका सबैका बारीमा रोपिएको सुपारीको बोटबाट निस्कने खबटाबाट टपरी उत्पादन गरी विदेश निर्यात हुने उदाहरण नै प्रसस्त भएको बताए ।

बैंकमा बचत गरी ब्याज खानु र इन्भेष्टमेन्ट कम्पनीमा लगानी गरी केही वर्ष पर्खेर चारगुना प्रतिफल आर्जन गर्नु कुन बढी होला भनी उनले मोटिभेट पनि गरे ।

कम्पनीका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतमा आयोजित उद्घाटन समारोहमा उनले पब्लिक लिमिटेड स्थापना गर्नुको आवश्यकता र औचित्य प्रष्ट्याएका थिए । गत असोज २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनी दर्ता गरी यसको स्थापना गरिएको हो ।

हालसम्म विभिन्न क्षेत्रमा आबद्ध ११४ जना संस्थापक शेयरधनीहरुले ५ करोड २८ लाख रुपैयाँ लगानी गरेका र बिर्तामोड वडा नं. ४ मा कम्पनीको रजिष्टर्ड कार्यालय पनि स्थापना गरिसकिएको उनले जानकारी दिए ।कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रहेको अध्यक्ष चुडालले बताए ।

आगामी वर्षहरुमा राइट शेयर र आईपीओमार्फत कम्पनीको पूँजी वृद्धि गरिदै लैजाने र कम्पनीलाई सबल र सक्षम बनाई पूर्वको एक स्थापित कम्पनीको रुपमा चलायमान बनाउन संजिवनीले विभिन्न उद्देश्य लिएको अध्यक्ष चुडालले जानकारी दिए ।

अघिल्लो दिन पत्रकार सम्मेलन गरी बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनीले आफ्ना उद्देश्य एवम् कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

कम्पनी सचिव दिनेशकुमार सुवेदीले सञ्चालन गरेको सो कार्यक्रममा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, हिमालयन बैंक लिमिटेड बिर्तामोड शाखाका प्रमुख विश्वास अर्यालले आ-आफ्ना भनाई राखेका थिए ।

कम्पनी उद्घाटन समारोहमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई कम्पनीका सञ्चालक कोपिला बजगाईले शाब्दिक स्वागत गरेकी थिइन् ।

सम्बन्धित खबर