
काठमाडौं । वैशाख महिनाका लागि सानिमा, कुमारी र नेपाल बैंकले ब्याजदर घटाएका छन् । एभरेस्ट बैंकले ० दशमलव ६१ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ ।
२० वटा वाणिज्य बैंकमध्ये १६ वटा बैंकले वैशाख महिनाका लागि पनि ब्याजदर स्थिर राखेका छन् । वैशाखमा औसत ब्याजदर स्थिर छ । चैतमा ५ दशमलव ९८ प्रतिशत रहेको औसत ब्याजदर वैशाखमा पनि उही विन्दुमा रहेको हो ।
व्यक्तिगत मुद्दतीतर्फ वैशाखमा सबैभन्दा बढी एभरेस्ट बैंकले ६ दशमलव ६१ प्रतिशत ब्याज दिनेछ । सबैभन्दा कम ब्याज नेपाल बैंकको ५ दशमलव १५ प्रतिशत रहेको छ ।
निजी क्षेत्रमा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलताको चाप परेको छ । छोटो समयमा ब्याजदरमा आउने उतारचढावले लगानीको निर्णय गर्न गाह्रो भएको सरकारबाट गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले उल्लेख गरेको छ ।