
काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपालले यूएईलाई २०१ रनको लक्ष्य दिएको छ ।
मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २०० रन बनायो । केही दिनदेखिको वर्षाका कारण मैदान चिसो भएका कारण ढिलो शुरू भएको खेल ४० ओभरमा झारिएको हो । नेपालका कप्तान नरेन भट्टले सबैभन्दा धेरै ६७ रन बनाए । यूएईका उद्दीश सुरीले ३ विकेट लिए ।
एशिया छनोटमा नेपाल, यूएईसहित अफगानिस्तान, हङकङ र ओमान सहभागी छन् । छनोटमा शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुनेछ ।
प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ ।