२०८२ वैशाख १, सोमवार , १२:०७:०२ बजे

Sajhamanch
'

जनजागरण सभाको खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च 

आइतवार, चैत ३१, २०८१

झापा । नेकपा एमाले कोशी प्रदेश कमिटीले शनिबार झापाको दमकमा आयोजना गरेको प्रदेश स्तरीय जनजागरण सभाको खर्च सार्वजनिक गरेको छ ।

गणतन्त्र र सङ्घीयता विरोधी हर्कतका विरोधमा आयोजना गरेको सभामा १२ लाख ६५ हजार रुपैयाँ खर्च भएको एमालेले जनाएको छ ।

प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले यसपटक कोशीमा नयाँ अभ्यास भएको बताए । उनले भने, यसपटक कोशीमा नयाँ अभ्यासका आधारमा कार्यक्रम सम्पन्न भयो । यसको निरन्तरता अब पनि दिइने छ । उनले वडा वडाबाट आफैले खर्च गरेर सहभागीहरू कार्यक्रम स्थलमा आएको बताए ।

पार्टी स्थायी कमिटीका सदस्यसमेत रहेका प्रदेश इन्चार्ज राईले भने ‘एमाले सरकारमा छ र सरकारको पैसामा कार्यक्रम गर्‍यो भन्ने पनि सुने । हामीले सरकारसँग एक रुपैयाँ पनि लिएका छैनौ । हामी हाम्रै शुभचिन्तकले गरेको सहयोगमा यस्ता ठूला ठूला सभाहरू गर्न सक्छौ ।’

उनले दमकमा भएको सभाबाट प्रतिगमनकारीको मुख बन्द भएको बताए । उनले भने, एमालेले आयोजना गरेको विशाल सभाले प्रतिगमनकारीलाई जवाफ मिलेको छ ।

उनका अनुसार मञ्च र साउन्ड सिस्टमका लागि ४ लाख रुपैयाँ, स्वयमसेवक परिचालनका लागि ३ लाख रुपैयाँ, झन्डा, ब्यानर र पर्चाका लागि १ लाख रुपैयाँ खर्च भएको छ । यस्तै जनजागरण सभामा झाँकीका लागि ३५ हजार रुपैयाँ, प्रचार प्रसारका लागि १ लाख २० हजार रुपैयाँ र विविध गरेर १ लाख रुपैयाँ खर्च भएको छ । स्वयम सेवकहरुले लगाएको टोपी एमाले सुनसरीले उपलब्ध गराएको हो ।

सम्बन्धित खबर