२०८२ वैशाख २, मङ्गलवार , १२:१३:०७ बजे

Sajhamanch
'

राजतन्त्र ब्युँतने भ्रमबाट मुक्त होऔँ : प्रधानमन्त्री ओली

शनिवार, चैत ३०, २०८१

झापा । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूला दलको सहभागितामा वर्तमान सरकार गठन भएसँगै देश राजनीतिक स्थायित्व, विकास र सुशासनको बाटोमा अग्रसर भएको बताएका छन् ।

नेकपा (एमाले) कोशी प्रदेश कमिटीले आज दमकमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्तब्यको सुरुमै तमासा .(स्टन्ट) गर्नेहरुले ‘ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजे झैँ ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरुलाई जनताले नपत्याएका’ टिप्पणी गरे ।

“देश अब कानुन अनुसार अगाडि बढ्छ । आन्दोलनका नाममा बैंक डुबाउनेहरु, आगजनी गर्नेहरुले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छुभन्दा कसैले उत्साहित हुनु पर्दैन ।

ठूला कुरा गर्ने र हल्ला गर्नेहरुले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरुको असली अनुहार चैत १५ गतेको तीनकुनेको अराजक घटनबाट देखिइसकिएको छ” प्रधानमन्त्री ओलीले प्रष्ट पारेका छन् ।

उनले भने, “विगतमा म प्रधानमन्त्री हुँदा एमालेभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । जनताको अभिमतबाट हामी पुनःसरकारको नेतृत्वमा आएका छौँ । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौँ । तपाईंहरु अस्थिरतावादीहरुको कुनै भ्रममा पर्नु पर्दैन ।”

प्रधानमन्त्री ओलीले निर्माण रोकिएका र बन्न बाँकी रहेका भौतिक पूर्वाधार तथा विकासका आयोजनाले क्रमशः गति लिइरहेको जनाउँदै आगामी बजेट एवं नीति तथा कार्यक्रममा नयाँ ढङ्गले राष्ट्र निर्माणको मार्गचित्र समावेश गरिने पनि बताउनुभयो । नीति तथा कार्यक्रम राष्ट्र र जनताका हितमा केन्द्रित हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, उद्यमशीलताको विकासलाई आफूले उच्च प्राथमिकतामा राखेको बताउँदै भने “हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्वपूर्ण कानुन ल्याएका छौँ । भूमि सम्बन्धी कानुन पनि चाँडै आउँछ । यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा छ । अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको छ ।”

भूमिहीन सुकुमबासीका समस्या समाधान गर्न आगामी संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने बताउँदै प्रधानमन्त्री ओलीले मुलुकलाई गरिबीबाट मुक्त गराउन वर्तमान सरकार क्रियाशील रहेको पनि बताए ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न दत्तचित्त भएर लाग्ने प्रतिवद्धता दोहोर्याउँदै एमाले विनाको समृद्ध नेपालको सपना पूरा नहुने दावी गरे ।

“एमाले अझ विशाल हुनेछ, जनतामा आधारित यो पार्टी देशको भविष्य हो । एमाले असफल भए देश असफल हुन्छ” अध्यक्ष ओलीको भनाई थियो ।

कोशी प्रदेश विविधतायुक्त र जागरुक प्रदेश भएको भन्दै अध्यक्ष ओलीले त्यस जागरणलाई व्यवहारमा उतार्न एमालेको प्रदेश र मातहतका कमिटी नयाँ उत्साह तथा सक्रियताका साथ परिचालित हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले युवालाई आफ्नो देश आफैँले बनाउनुपर्छ भन्ने भावनाका साथ स्वदेशमै रोजगारी र उद्यमशीलताको विकासमा लगाउन सरकारले आवश्यक कदम चालिरहेको संकेत पनि गरे ।

एमालेले आगामी लोकतन्त्र दिवसका दिन बैशाख ११ गते काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने र ४० वर्षमुनिका युवालाई त्यस दिन काठमाडौँ गएर राजतन्त्र फालेको र जनताले जितेको दिनको उत्सव मनाउन आह्वान गरे ।

“एमालेको साथमा युवा छैनन् । एमालेमा युवा सिद्धिए भन्नेहरुलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ । म चुनौतीका साथ भन्छु, अरु कुनै पार्टीले त्यति धेरै युवालाई भेला पार्न सक्दैनन्” उनले थपे, “युवाले आफ्नो सामाथ्र्यको पूर्ण प्रयोग गरेर देशका निम्ति जुट्नुपर्छ । आफ्नो पेसागत काम र परिवारको हेरचाहमा पनि लाग्नुपर्छ ।”

एमाले बोशीका सचिव राजकुमार भण्डारीले सञ्चालन गरेको सो जनजागरण सभामा कोसीको संस्थापक मुख्यमन्त्री तथा पार्टीका प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्बोधन गरेका थिए ।

कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा आयोजित जनसभामा केन्द्रीय उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत स्थायी कमिटी, पोलिटब्युरो र केन्दूीय कमिटीका सदस्यहरुको सहभागिता थियो ।

सम्बन्धित खबर