२०८१ चैत ३०, शनिवार , ११:११:१७ बजे

Sajhamanch
'

दमकमा आज एमालेको प्रदेशस्तरीय जनजागरण सभा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

शनिवार, चैत ३०, २०८१

झापा । आज चैत ३० गते दिउँसो नेकपा एमालेले दमकमा आयोजना गरेको कोशी प्रदेशस्तरीय जनजागरण सभालाई प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने  भएका छन् ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले आयोजना गरेको कोशी प्रदेश स्तरीय जनजागरण सभाको तयारी पूरा भएको पार्टी स्थायी कमिटीका सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले बताएका हुन् । दमकको पशुहाटमा सभा आयोजना गरिएको छ ।

सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरु दमक झरिरहेका छन् । हिजो साँझ पत्रकार सम्मेलन गरेर जानकारी दिइए अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरु रतुवा पूलभन्दा पूर्व नै रोकिनेछ । सहभागीहरुमात्र नारा जुलुससहित पशुहाट स्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।

यसैगरी पश्चिमतिरबाट आउने सहभागीहरु पश्चिम बसस्टेन्डमा सवारी रोकेर नारा जुलुससहित कार्यक्रम स्थल प्रवेश गर्नेछन् ।

जनजागरण सभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयंसेवक परिचालन गरिएको पार्टीको कोशी प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य राईले बताए ।

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विहान १० बजेको बिमानमा काठमाडौँ – भद्रपुर हुँदै दमक आउने तय भएको छ ।

सम्बन्धित खबर