२०८१ चैत ३०, शनिवार , ०९:५५:२४ बजे

Sajhamanch
'

बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनीको औपचारिक उद्घाटन भोलि

शुक्रवार, चैत २९, २०८१

झापा । आर्थिक मन्दीले चौतर्फी गाँजिरहेको नेपाली बजारलाई चुनौति दिँदै झापाका उत्साही युवा समूहले बिर्तामोड संजिवनी इन्भेष्टमेण्ट कम्पनी लिमिटेड सञ्चालनमा ल्याएका छन् ।

कम्पनीको औपचारिक उद्घाटनको पूर्वसन्ध्यामा आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी कम्पनी स्थापनाको उद्देश्य एवम् लक्ष्यहरुबारे जानकारी गराइएको हो ।

भोलि शनिबार कोशी प्रदेश सरकारका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले कम्पनीको विधिवत उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

विभिन्न क्षेत्रमा आबद्ध ११४ जनाले लगानी गरेर बिर्तामोड वडा नं. ४ मा रजिष्टर्ड कार्यालय रहने गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा गत असोज २२ गते कम्पनी दर्ता गरी यसको स्थापना गरिएको हो ।

कम्पनीका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको जानकारी दिए । कम्पनीको अधिकृत पूँजी २० करोड, जारी पूँजी ६ करोड ६० लाख र चुक्ता पूँजी ५ करोड २८ लाख रहेको उनले बताए ।

आगामी वर्षहरुमा राइट शेयर र आईपीओमार्फत कम्पनीको पूँजी वृद्धि गरिदै लैजाने र कम्पनीलाई सबल र सक्षम बनाई पुर्वको एक स्थापित कम्पनीको रुपमा चलायमान बनाउन कम्पनीले विभिन्न उद्देश्य लिएको अध्यक्ष चुडालले जानकारी दिए ।

बिर्तामोड संजीवनी इन्भेष्टमेण्ट कम्पनीले बैंक तथा वित्तिय संस्था साथै बैंक तथा विभिन्न कम्पनीबाट निष्काशित शेयर एवं अन्य
मुनाफामूलक क्षेत्र, जग्गा, जमिन हाउजिङ्ग परियोजना अपार्टमेन्ट तथा व्यापारिक कम्प्लेक्सहरु, भौतिक पूर्वाधार निर्माण, ठेक्का पट्टा, जलविद्युत परियोजना एवं विकासका परियोजनाहरुमा लगानी गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

आयात, निर्यात, शैक्षिक, स्वास्थ्य, हस्तकला, सुरक्षा, अनुसन्धान, बजार प्रवर्धन लगायतका क्षेत्रहरु, कृषिसँग सम्बन्धित क्षेत्रमा लगानी गर्ने, विभिन्न संघ, संस्था, कम्पनी तथा अन्य संगठित संस्थाहरुले माग गर्ने बोलपत्रमा सहभागी भई ठेक्का पट्टाको कार्य गर्ने आदि कम्पनीको उद्देश्य रहेको सञ्चालक समितिका सचिव दिनेशकुमार सुवेदीले बताए ।

सम्बन्धित खबर