
रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरू सफल नहुने बताएका छन् ।
एमाले रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उनले आफूपछि झन बलिया नेता आउने बताए ।
‘एमालेलाई सिध्याउँछु, केपी ओलीविनाको एमाले बनाउँछु भन्नेहरु सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरु पार्टीमा आउनेछन्,’ उनले भने ।
उनले थपे, ‘यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छौं । मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न सक्दैनन् ।’
एमाले अध्यक्ष समेत रहेका ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरु असफल भएको उल्लेख गर्दै समृद्धि र विकासको यात्रामा कुनै विराम नलाग्ने बताए ।
उनले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको कोसिस गर्नेहरू असफल भएको टिप्पणी गरे ।
राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले अहिलेको गठबन्धन चुनावसम्म सँगै जाने उल्लेख गर्दै भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’