
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले वातावरण मैत्री यातायात र संरचना नेपालको प्राथमिकतामा रहेको बताएका छन् ।
संरचनाहरु निर्माणको क्रमदेखि नै वातवरणीय क्षति हुन नदिने र वातावरण मैत्री सवारी साधनहरुलाई प्रोत्साहन गरिने उनको भनाई छ ।
सोसाईटी अफ ट्रान्सपोर्ट ईन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनका क्रममा उनले यातायात र वातावरणको सवाल अहिले विश्वव्यापी चासो रहेकोसमेत धारणा राखेका छन् ।
नेपालकोे यातायात प्रणालीलाई आधुनिक र सुव्यवस्थित बनाउन सरकार सक्रिय रहेको भन्दै उनले वातावरण मैत्री, दिगो, प्रविधि सम्पन्न, अपांगमैत्री र प्रयोगकर्ता मैत्री यातायात प्रणाली विकास गर्ने नेपालको लक्ष्य रहेको जानकारी दिए ।
सुरक्षित, बलियो र वातावरण मैत्री सडक पूर्वाधार निर्माण गर्नु, साथै शहरी तथा ग्रामीण क्षेत्रलाई जोड्ने सडक सञ्जाल विस्तार गर्नु एवम् सार्वजनिक यातायात, सडक सुरक्षा लगायतका क्षेत्रमा सुधार ल्याउन नीति र कानूनी संरचना लागू गर्नु अहिलेको आवश्यकता भएकाले सरकारले त्यसतर्फ समेत काम गरिरहेको मन्त्री दाहालको भनाई छ ।
नेपालको पूर्वाधार निर्माण तीब्ररुपमा भइरहेको बताउँदै उनले २ दशक अघिसम्म पनि देशको मुख्य सडक पूर्व–पश्चिम राजमार्ग मात्र रहेकोमा हालको अवस्थामा तीनवटा प्रमुख पूर्व–पश्चिम राजमार्गहरू र एक एशियाली मापदण्डको राजमार्ग एकैसाथ निर्माण भइरहेको बताए ।
त्यसैगरी, उत्तर–दक्षिण दिशाका राजमार्ग र करिडोरहरूको पनि विकास भइरहेको र राजधानी काठमाडौं बाहेक व्यापारिक र रणनीतिक दृष्टिले महत्वपूर्ण सडकहरू निर्माण भइरहेको उनले प्रष्ट पारेका छन् ।
नेपालमा केही भएन र केही हुन सकेन भन्ने भाष्य चिर्न जरुरी रहेको भन्दै मन्त्री दाहालले सडक तथा पूलहरुका साथै हाल दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलहरू निर्माण भइसकेको र अब नेपाल आधुनिक सुरुङ मार्गको युगमा प्रवेश गरिसकेको बताए ।
नागढुंगा सुरुङ आगामी एक वर्षभित्र सञ्चालनमा आउने तयारीमा रहेको र सिद्धबाबा सुरुङमा ब्रेक थ्रु भइसकेको तथा द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण पनि तीब्ररुपमा भइरहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा पूर्वाधार निर्माणको अवस्था, चरण र भावी कार्यदिशाका बारेमा प्रकाश पारेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतको आयोजनामा भएको तीन दिने सम्मेलनमा विश्वका विभिन्न देशका विज्ञ तथा प्राध्यापकहरुले कार्यपत्रहरु प्रस्तुत गर्ने आयोजक संस्थाका अध्यक्ष डा. हरेराम श्रेष्ठले बताए ।