
काठमाडौं । काठमाडौंसहित देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।पश्चिमी तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।
देशका सातवटै प्रदेशमा आज वर्षाको सम्भावना छ । विशेषगरी पहाडी भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।“सातवटै प्रदेशमा वर्षाको सम्भावना छ । विशेषगरी उच्च पहाडमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् गोविन्द झाले भने । उनका अनुसार मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
उनका अनुसार सातवटै प्रदेशका उच्च पहाड र हिमाली भूभागमा हिमपातको पनि सम्भावना रहेको छ ।
मौसमविद् झाका अनुसार आज काठमाडौंमा पनि वर्षाको सम्भावना छ । “काठमाडौंमा आज दिनभर बदली हुनेछ । बिहानदेखि नै बदली छ । बिहान लागेको हुस्सु र कुहिरो केही समयमा हटे पनि दिउँसो बादल लाग्नेछ,” मौसमविद् झा भन्छन्, “अपराह्नपछि काठमाडौं वर्षा हुनेछ । ठूलो होइन हल्का वर्षामात्रै हुनेछ ।”