२०८२ वैशाख ५, शुक्रवार , ११:०९:१७ बजे

Sajhamanch
'

सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने काम सकियो

बिहिवार, चैत २८, २०८१

काठमाडौं । यस पटकको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि खुम्बु आइसफल अर्थात् दोस्रो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले परिचालन गरेका आइसफल डाक्टरहरूको टोलीले सगरमाथा आधार शिविरदेखि दोस्रो शिविरसम्मको २ हजार २०० मिटर बाटो बनाउने काम सम्पन्न गरेका पर्यटन विभागकी निर्देशक आरती न्यौपानेले जानकारी दिए।

हरेक वर्ष एसपीसीसीले आधार शिविरदेखि ६ हजार ४०० मिटर उचाइमा रहेको दोस्रो शिविरसम्म डोरी टाँग्ने काम गर्दै आएको छ । जसमा डोरी टाँग्ने, जोखिमपूर्ण ठाउँमा भर्‍याङ राख्ने, हिउँ तथा बरफको अस्थिर संरचनाहरूलाई स्थिर बनाउनेजस्ता कार्य गर्नुपर्ने हुन्छ । त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घले टेन्डरमार्फत जिम्मा दिने गरेकोमा यस वर्ष एटके एक्सपिडिसनले गरेको जनाइएको छ ।

सगरमाथामा दोस्रो शिविरसम्म वर्षेनि बाटो हराउने भएकोले बाटो बनाउन कठिन हुन्छ । दोस्रो शिविरभन्दा माथि ‘रोप फिक्सिङ’ अर्थात् डोरी टाँग्ने काम तुलनात्मक सजिलो रहेको आइसफल डाक्टरहरू बताउँछन् ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म १३४ जनाले अनुमति लिएका छन् जसमा २७ महिला र १०७ पुरुष छन् ।

सम्बन्धित खबर