
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक प्रशासन तालिम २५औँ समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा बुधबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताए ।
जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महसुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान् भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक शैलेस न्यौपानेले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन ११ गतेदेखि सञ्चालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २४ जना र प्रहरी सहायक निरीक्षक २७ जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिए ।