२०८२ वैशाख ४, बिहिवार , ०४:५४:३९ बजे

Sajhamanch
'

अछाममा आगलागी : २७ घर जले, झन्डै ७ करोड रुपैयाँको क्षति

बुधवार, चैत २७, २०८१

काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा पर्ने जयगढ बजारमा आगलागी हुँदा २७ घर जलेर नष्ट भएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीका अनुसार आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

हिजो (मङगलवार) बेलुका सवा ७ बजेतिर जयगढ बजारमा रहेको आईएमई सेन्टरभित्र खाना पकाउने ग्यास पड्किएपछि आगो शुरू भएको थियो । आईएमई सेन्टर भित्रै एउटा कोठा भान्साको लागी प्रयोग गरिएको थियो ।

आगोले १५ वटा कच्ची टिनका टहरा, १० वटा ढुङ्गा–माटोका घर र २ वटा पक्की घर पूर्णरूपमा जलेका हुन् । आगोले २७ घरमा रहेका ३० वटा पसल जलेका प्रहरीले जनाएको छ ।

मानवीय क्षति भने भएको छैन । झन्डै ६ घण्टापछि मात्रै आगो निभइएको प्रहरीले जनाएको छ । साँघुरो बाटोका कारण मङ्गलसेन नगरपालिकाबाट गएको दमकल प्रयोग गर्न नसकिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।