
काठमाडौं । सगरमाथा आरोहणका लागि बाटो बनाउने काम आजका लागि रोकिएको छ । दिउँसो ११ बजेपछि बादल लाग्ने मौसम पूर्वानुमानका कारण बाटो निर्माणको काम रोकेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ ।
यसअघि हिजो दिउँसो सगरमाथा आधार शिविरमा हिमपात भएको थियो । सगरमाथा आधार शिविरदेखि पहिलो शिविरसम्म र नुप्त्से क्षेत्रको अवस्था बिग्रँदै गएको पनि एसपीसीसीले बताएको छ । यी क्षेत्रहरू बारम्बार चट्टान खस्ने र हिमपहिरो गतिविधिका लागि परिचित छन् ।
दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार १०० मिटरसम्मको बाटो बनिसकेको छ ।
दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् डोरी टाँग्ने काम गर्छ । एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । अहिले हिमाल आरोहणका लागि अनुमति लिने क्रम चलिरहेको छ ।
यसैबीच अन्नपूर्ण क्षेत्रमा दुई जना शेर्पा बेपत्ता भएको घटनाप्रति पनि सचेत रहेको एसपीसीसीले बताएको छ । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिमपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा हिजो बिहानदेखि हराइरहेका छन् ।