
काठमाडौं । असोज दोस्रो हप्ता रोसीखोलामा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्गको सडक पुनः निर्माणको लागि तीन खण्डको ठेक्का आह्वान भएको छ । कटुन्जेदेखि बर्खेखोलासम्मको सडकलाई चार खण्डमा विभाजन गरेकोमा तीन खण्डको लागि ठेक्का आव्हान भएको हो ।
डिभिजन सडक भक्तपुरले काभ्रेतर्फको तीन खण्डमध्ये दुई खण्ड पुनर्निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । राजमार्गको अलि बढी मोड र अप्ठ्यारो रहेको बर्खेखोलादेखि डालाबेँसीसम्मको साढे ५ किलोमिटर सडक पुनः र्निर्माणका लागि जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग छलफल भएको र जाइकाले स्थलगत अध्ययन गर्न लागेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
सिन्धुलीतर्फको एक खण्डका लागि पनि सूचना प्रकाशित भएको छ । क्षतिग्रस्त बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकारबाट आठ अर्ब ५० करोड रुपैयाँ बजेट सुनिश्चितता भएको छ । त्यसबाट काभ्रे जिल्लातर्फ तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुली खण्डका लागि एक अर्ब रुपियाँ बजेट विनियोजन भएको छ ।
सडक पुनः र्निर्माणका लागि सूचना प्रकाशित गरिएका सडक खण्डमा जेठ पहिलो हप्तासम्म सम्झौता गर्ने लक्ष्य रहेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।
ठेकेदारले काम शुरु गर्दा वर्षा लागिसक्ने भएकोले आउँदो मनसुनको समयमा गाडी चलाउन डिभिजन सडक कार्यालय भक्तपुरले अस्थायी सडकको उचाइ बढाउने काम गरिरहेको छ ।
अहिले दैनिक ३७ वटा उपकरण परिचालन गरेर अस्थायी सडक मर्मत भइरहेको उनले बताउए। खोलाको बहाव परिवर्तनका साथै सडकलाई तीनदेखि सात मिटरसम्म अग्लो बनाउने काम भइरहेको छ ।