
मुस्ताङ । मुस्ताङमा राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि पोखरा–जोमसोम हवाई उडानको सङ्ख्या दुई तिहाइले घटेको छ ।
पर्यटकीय यामका बेला निकै चहलपहल हुने जोमसोम नागरिक उड्डयन कार्यालयको जोमसोम विमानस्थलमा हवाई यात्रुको चहलपहल घटेको हो ।
राष्ट्रिय राजमार्ग शुरू हुनुअघि पोखरा–जोमसाम हवाई यात्रा गर्दै दैनिक तीन सय बढी पर्यटक मुस्ताङ आउने गरेका थिए । अहिले त्यो सङ्ख्या घटेर आधा पनि पुग्दैन ।
कोरला सडकअन्तर्गत म्याग्दीको बेनीदेखि मुस्ताङको मुक्तिनाथसम्म दुई तिहाईभन्दा बढी कच्ची सडक कालोपत्र भइसकेको छ ।
सडक कालोपत्र भएर सहज भएकै कारण हवाई यात्रुको सङ्ख्या विगतका वर्षभन्दा यसपाली हवाई उडान घटेको जोमसोम नागरिक उड्यान कार्यालयका प्रमुख केशव लम्सालले जानकारी दिए।
अहिले दैनिक पोखरा – जोमसोम हवाई उडान दैनिक ५/६ वटा मात्रै हुने गरेको । यसमा यात्रा गर्ने ८० प्रतिशत भारतीय र २० प्रतिशत अन्य मुलुकका विदेशी पर्यटक रहेको छ । यसअघि दैनिक १८ वटासम्म हवाई उडान हुने गरेको थियो ।
यस्तै हिउँदयामको समाप्ति र वसन्त ऋतुको आगमनसँगै यो समय मुस्ताङ घुम्ने उपयुक्त अनुकूल समय हो । यद्यपि यो समयमा पोखराबाट हवाईमार्ग हुँदै मुस्ताङ आउने पर्यटक सडकमार्गबाट आउँने गर्दा उडान घटेको तारा एअरलाईन्सका जोमसोम व्यवस्थापक सुजन लालचनको भनाइ छ ।
सडकमार्गको सहजता र सस्तो मूल्यमा यात्रा गर्न पाइने र गाडी पनि भनेको समयमा उपलब्ध हुने भएकाले सडकमार्गबाट यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
पोखरा – जोमसोम हवाई मार्गमा दुर्घटना भइरहने भएकाले पनि पोखरा जोमसोम हवाई उडान घटेको हुनसक्ने अनुमान छ ।