
काठमाडौं । आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ ।
यसैबीच सगरमाथा आरोहणका लागि बाटो निर्माण भइरहेको छ । खुम्बु आइसफल क्षेत्रमा चार वटा भर्याङ र १२ वटा किला ठोकिसकिएको विभागका निर्देशक लीलाधर अवस्थीले बताए।
दोस्रो शिविरसम्म दुई हजार २०० मिटरसम्म बाटो बनाउनुपर्नेमा अहिलेसम्म एक हजार १०० मिटरसम्मको बाटो बनिसकेको छ । सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको बाटो बनाउने काम गरिरहेको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ ।
एसपीसीसीले बाटो बनाउन १० जना आइसफल डाक्टरलाई खटाएको छ । दोस्रो शिविरसम्म बाटो तयार भएपछि पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् डोरी टाँग्ने काम गर्छ ।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । सगरमाथासहित २९ वटा हिमाल आरोहणका लागि अहिलेसम्म १९८ जनाले आरोहण अनुमति लिएका विभागले जनाएको छ ।