
काठमाडौं । अफगानिस्तानको १९ वर्षमुनिको टोलीले दोस्रो युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीलाई १६९ रनको लक्ष्य दिएको छ ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ५० ओभरमा १६८ रन बनाउँदा अलआउट भयो । अफगानिस्तानका कप्तान महबूब खानले ५८ रन बनाए । नेपालका सन्तोष यादवले ३ तथा सिबरिन श्रेष्ठ र विपिन शर्माले २/२ विकेट लिए ।
तीन खेलको शृङ्खलामा अफगानिस्तान १–० ले अघि छ । पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल आउँदो बुधवार हुनेछ ।
यही महिना नेपालमै हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलिरहेको हो ।
१९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।