
काठमाडौं । गृहमन्त्री रमेश लेखकले व्यवस्था उल्ट्याउने गतिविधि सरकारलाई स्वीकार्य नरहेको बताएका छन् । गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन वर्तमान संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको उनको टिप्पणी छ ।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा आज तीनकुने घटनाबारे जवाफ दिँदै गृहमन्त्री लेखकले प्रदर्शन शान्तिपूर्ण धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यले नगरिएको आगजनी र तोडफोडजस्ता अराजक गतिविधिबाट प्रस्ट भएको उल्लेख गरे। अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र स्वीकार पनि नगर्ने गृहमन्त्री लेखकको भनाइ छ ।
तीनकुने घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन आयोग गठन गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले माग गरेको छ । समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र सांसद दुर्गा राईले छानबिन आयोग गठनको माग गरे।