
झापा । झापाको अर्जुनधारा नगरपालिकामा भोलिबाट वडास्तरीय टि-२० क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा वडास्तरीय क्रिकेट प्रतियोगिता संचालन हुने भएको हो ।
नगरपालिकाका ११ वटै वडाका खेलाडीको सहभागितामा नगरमा पहिलोपटक खेलकुद विकास समितिको आयोजनामा वडास्तरीय टि-२० क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
क्रिकेटका खेलाडी उत्पादन गरी नगरपालिकाको टिम तयार गर्न प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
भोलि चैत २० गतेदेखि सुरु हुने प्रतियोगिता अर्जुनधारा ७ मा रहेको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगिताका लागि खेल मैदान मर्मत तथा आवश्यक खेल सामग्री खरिद गरिसकिएको खेलकुद विकास समितिका सदस्य सचिव खगेन्द्र लिङदेनले जानकारी दिए ।
प्रतियोगितामा विजेता हुने वडाले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैगरी, टुर्नामेन्ट अफ दी सिरिज बन्ने खेलाडीले नगद पाँच हजार पाउने छ ।
यस्तै, प्रत्येक खेलको प्लेयर अफ दी म्याच बन्ने खेलाडीले एक हजार पाउँदा बेस्ट बलर, बेस्ट फिल्डर, बेस्ट ब्याटर, बेस्टर क्याचर बन्ने खेलाडीले जनही ३/३ हजार पाउने छन् भने फेयर टिमलाई नगद पाँच हजार प्रदान गरिने भएको छ । प्रतियोगिता सम्पन्न गर्न २ लाख ७० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।