२०८१ चैत २१, बिहिवार , ०२:१६:४१ बजे

Sajhamanch
'

त्रिभुवन विमानस्थल आजदेखि १८ घण्टा सञ्चालन

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने भएको छ । कात्तिक २३ गतेदेखि १४ घण्टा मात्रै सञ्चालन हुँदै आएको विमानस्थल आजदेखि दैनिक १८ घण्टा सञ्चालन हुने भएको हो ।

विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि बढाइएको विमानस्थलले जनाएको छ ।

विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ । योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाइएको हो ।

अब काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो । सञ्चालन अवधि बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको संख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर