
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले पहिलो जीत निकालेको छ । हिजोको खेलमा मुम्बई आठ विकेटले विजयी भएको हो ।
कोलकाताले दिएको ११७ रनको लक्ष्य पछ्याएको मुम्बईले १२ ओभर ५ बलमा दुई विकेट गुमाउँदै १२१ रन बनायो । मुम्बईका रायन रिकेल्टोनले अवजित ६२ रन बनाए ।
कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए । त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो । कोलकाताका लागि अंगकृश रघुवंशीले २६ रन बनाए ।
मुम्बईका अश्विन कुमारले चार विकेट लिए । मुम्बई यसअघि चेन्नई सुपर किङ्स र गुजरात टाइटन्ससँग हारेको थियो । कोलकाताको भने यो दोस्रो हार हो । कोलकाताले यसअघि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित हुँदा राजस्थान रोयल्सलाई हराएको थियो ।
जीतसँगै मुम्बई २ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । २ अङ्क नै रहेको कोलकाता नेट रनरेटका आधारमा पुछारम झरेको छ । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्स खेल्दैछन् ।