
म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीन हजार ९ सयभन्दा धेरै घाइते भएका छन् । अझै दुई सय ७० जना हराइरहेका छन् । मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।
गएको शुक्रवार म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा पूर्व प्राथमिक विद्यालयको भवन भत्किँदा १२ जना बालबालिका र केही शिक्षकशिक्षिकाको ज्यान गएको विद्यालयले पुष्टि गरेको छ । तर स्थानीयले झण्डै ४० जना बालबालिकाको ज्यान गएको हुनसक्ने बताएका छन् ।
सरकारले यही अप्रिल ६ सम्म राष्ट्रिय शोकको घोषणा गर्दै झण्डा आधा झुकाउने निर्णय गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारको काम भइरहेको छ ।
पछिल्लो चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यानमारले अन्तर्राष्ट्रिय सहायता मागेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आपतकालीन सहायता घोषणा गर्दै आउँदो ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ ।रेडक्रसले पनि सय मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ । चीन, रूस, भारतलगायतका देशहरूले सहायता उपलब्ध गराइरहेका छन् । तर, सङ्कटको बीचमा पनि म्यानमारको सैन्य सरकारले विरोधी समूहहरू विरुद्ध हवाई आक्रमण गरिरहेको छ । भूकम्पपछि भएको हवाई आक्रमणमा सात जना विद्रोहीको ज्यान गएको छ ।