२०८१ चैत १९, मङ्गलवार , १०:३७:५४ बजे

Sajhamanch
'

सहकारी ऐन नियम अनुकूल कार्यविधिहरु बनाउन कर्णाली साकोसद्वारा अन्तरक्रियात्मक गोष्ठी

सोमवार, चैत १८, २०८१

झापा । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले हालै सहकारी संस्थाहरुको विधि व्यवस्थापनका लागि इकाई बैठक र सेवा केन्द्र व्यवस्थापनको प्रभावकारिता विषयक गोष्ठी बिर्तामोडमा सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षतामा आयोजित सो गोष्ठीको औचित्य माथि प्रकाश पार्दै उनले सहकारी ऐन, नियम र संस्थाले बनाएका कतिपय कार्यविधिहरु एकापसमा बाझिरहेकाले सहकारी संस्थाहरु समस्यामा परेको बताए ।

सहकारी संस्थाहरुले आ–आफ्नै तरिकाबाट कार्यविधिहरु बनाएर कार्यान्वयनमा लगेकोले कतिपय ऐन नियमसँग नै बाझिएको पनि छ । यसैले राज्यका विभिन्न तहबाट जारी भएका सहकारी ऐन, नियमावली र निर्देशिकासँग नबाझिने गरी कसरी संस्थाहरुले कार्यविधि बनाउने भन्ने सन्दर्भमा गोष्ठी केन्द्रित रहेको उनले अवगत गराएका थिए ।

झापा जिल्ला सहकारी संघको सहयोगमा सञ्चालित सो गोष्ठीमा सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशीका रजिष्ट्रार हरिबहादुर खत्रीले मुख्य सहजीकरण गरेका थिए । सो कार्यक्रममा रजिष्ट्रार खत्रीले धेरैवटा सेवा केन्द्र विस्तार गर्ने सहकारी संस्थाहरुको संख्या झापामा बढी भएकाले यस्तो कार्यक्रम यहाँ आवश्यक रहेको औंल्याए ।

सहकारीलाई गरिबी मोचन आन्दोलनको संज्ञा दिँदै प्रदेश रजिष्ट्रार खत्रीले असल नियतले सञ्चालित सहकारीमा अहिले समस्या नरहेको तर छद्मभेषीहरु वा विचौलियाहरुले चलाएको सहकारीमा समस्या ल्याइएको बताए ।

संस्थाका सचिव भुपाल बस्नेतले सञ्चालन गरेको सो गोष्ठीमा झापाका सबै विषयगत सहकारीबाट सहभागिता हुने गरी ४५ वटा संस्थाबाट सञ्चालक तथा कर्मचारीहरुलाई आमन्त्रण गरिएको जानकारी दिइयो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा आयोजित सो गोष्ठीमा मन्तब्य राख्दै उनले झापाका १२ वटा संस्था अर्बभन्दा बढी कारोबार गर्ने, उपत्यका बाहिर धेरै सदस्य र कारोबार रहेका संस्थाहरु एवम् विभिन्न विषयका राम्रा सहकारीहरु रहेको बताए ।

संस्थाका उपाध्यक्ष रामकुमार गौतमले गोष्ठीमा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए । आफ्नो मन्तब्यमा उनले सहकारी संस्थाको व्यवस्थापन कसरी सुदृढ बनाउने, सेवा केन्द्रको स्थापना र व्यवस्थापन कसरी गर्ने, यस्ता विषयमा आएका चुनौतिहरुलाई के कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भमा अन्तरक्रियात्मक गोष्ठी आयोजना गरिएको र यसपछि ती चुनौतिहरु समाधान गर्न सक्षम हुनेमा विश्वास व्यक्त गरेका थिए ।

सो गोष्ठीमा कोशी प्रदेश सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेल, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले आ–आफ्ना धारण राखेका थिए ।

सम्बन्धित खबर