२०८१ चैत १९, मङ्गलवार , ०७:५१:३४ बजे

Sajhamanch
'

एनएमसीका कर्मचारीलाई उत्प्रेरणमुलक तालिम

सोमवार, चैत १८, २०८१

मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले आफ्नो डेरी उद्योग र एग्रो फार्ममा कार्यरत कर्मचारीहरुलाई चैत १४ र १५ गते उत्प्रेरणमुलक तालिम प्रदान गरेको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा भएका ती दुवै उत्प्रेरणमुलक तालिमको सहजीकरण उपसमितिका सहसंयोजक घनश्याम अधिकारी र सदस्य अर्जुनप्रसाद थपलियाले गरेका थिए ।

डेरी उद्योगमा कार्यरत कर्मचारीहरुका लागि चैत १४ गते आयोजित तालिममा एनएमसीका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको मुख्य नारा असल संस्कार र समृद्धिका लागि एनएमसी माथि विशेष मन्तब्य राखेर कर्मचारीहरुले पनि सोही आधारमा काम गर्नुपर्ने सन्देश दिए ।

सो कार्यक्रममा एनएमसीका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले प्रेरणा र उत्प्रेरणा माथि चर्चा गर्दै कर्मचारीबाट उठेको सुविधाका विषयमा प्रष्ट पारेका थिए ।

उत्प्रेरणमुलक तालिमको सहजीकरण गर्दै उपसमितिका सहसंयोजक घनश्याम अधिकारीले ब्यक्ति र सिंगो संस्थाले अवलम्बन गरेका बानी, संस्कार र संस्कृतिका विषय एवम् सब कन्सियस माइण्ड सम्बन्धमा प्रकाश पारेका थिए ।

तालिमका अर्का सहजकर्ता उपसमितिका सदस्य अर्जुनप्रसाद थपलियाले सहभागीहरुलाई प्रयोगात्मक अभ्यास गराउँदै विषय वस्तु माथि उत्प्रेरणा भरेका थिए ।

‘फोहोरहरु संकलनका लागि विभिन्न ठाउँमा डस्टबिनहरु राखिएको हुन्छ । सुरु सुरुमा डस्टबिन नजिक जाँदा पनि गन्हाउँदैन तर काँचो कँचिलो चिसो सुख्खा एकै ठाउँमा फल्न थालेपछि केही दिनमा कुहिएर गन्हाउन थाल्छ’ आफ्नो सहजीकरणमा उनले भने, ‘हो, यसरी नै मानिसको दिमागमा पनि नकारात्मक कुराले भरिन थाल्यो भने उर्जा पनि नकारात्मक नै निस्कन्छ ।’

आयोजक उपसमितिका सदस्य गोपाल काफ्लेको शाब्दिक स्वागतबाट सुरु भएको सो उत्प्रेरणमुलक तालिममा सहभागी कर्मचारीहरु निर्मला सुवेदी र नारायण बुढाथोकीले प्रतिक्रिया मन्तब्य राखेका थिए ।

संस्था अन्तरगत सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले सञ्चालन गरेको सो तालिममा डेरीमा कार्यरत कर्मचारीहरुका समस्याका बारेमा शेखर पौडेलले ध्यानाकर्षण गराएका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सहसंयोजक घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न उत्प्रेरणमुलक तालिम आयोजना प्रति डेरी व्यवसायगत उपसमितिका सहसंयोजक नारायणबहादुर बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए ।

सम्बन्धित खबर