२०८१ चैत १९, मङ्गलवार , ०९:०७:०८ बजे

Sajhamanch
'

पत्रकार र सञ्चार माध्यमको सुरक्षाका लागि देशभरबाट सरकारलाई ज्ञापन

सोमवार, चैत १८, २०८१

झापा । राजावादी समर्थकहरूले काठमाडौंको तीनकुनेमा प्रदर्शनको क्रममा चैत १५ गते जलाएर हत्या गरिएका पत्रकार रजक हत्या घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज नेपाल पत्रकार महासंघको आह्वानमा देशभर ज्ञापनपत्र बुझाइएको छ ।

सबै प्रदेशका मुख्यमन्त्री, जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारी र इलाका प्रशासन कार्यालयका प्रमुखहरुमार्फत् सरकारलाई पत्रकार महासंघको अगुवाईमा पत्रकारजन्य संघ–संस्थाहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र ग्रहण गर्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले पत्रकारहरुको सुरक्षा प्रशासनले गर्ने बताएका छन् । उनले पत्रकार र सञ्चार माध्यम माथि कसैले धाकधम्की दिए खबर गर्न पनि सुझाएका छन् ।

पत्रकारलाई जिउँदै जलाएर हत्य गरेको घटनाका बारेमा गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चार माध्यम र सञ्चारकर्मी माथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन नेपाल पत्रकार महासंघ झापाले जिल्ला प्रशासन कार्यालय झापामार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

अध्यक्ष एकराज गिरीले ज्ञापनपत्र पढेर प्रजिअ अधिकारीलाई हस्तान्तरण गरेका थिए । ज्ञापनपत्र बुझाउन पत्रकार महासंघको कार्यसमिति, पूर्व अध्यक्षहरु, संघ–संगठनको नेतृत्व, प्रेस क्लवका अध्यक्ष तथा प्रतिनिधिहरुसहित झापाली पत्रकारहरुको बाक्लो उपस्थिति थियो ।

झापाको माई पश्चिम भूगोलमा रहेर कार्यरत पत्रकारहरुले इलाका प्रशासन कार्यालय दमकमा ज्ञापन पत्र बुझाएको थियो ।

यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीलाई नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझेपछि मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्र माथिको प्रहार भएको बताए । सञ्चार माध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्र माथिको प्रहार भएको उनको भनाई थियो ।

उनले पत्रकार महासंघले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्था प्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरुलाई आग्रह पनि गरेका छन् ।

पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले काठमाडौँमा भएको तथाकथित आन्दोलन, आन्दोलन नभएर लुटपाट गर्ने श्रृङ्खला मात्र भएको टिप्पणी गरेका थिए ।

मुख्यमन्त्री कार्कीले अपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै पत्रकारहरूको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ कोशीका केन्द्रीय सदस्य कमल रिमाल, कोशीका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशिला पाठक लगायतका महासंघका पदाधिकारी तथा सदस्यहरूले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाउँदै पत्रकारहरूको पेशागत सुरक्षा र जीवन रक्षाको माग गरेका हुन् ।

सम्बन्धित खबर