२०८१ चैत १८, सोमवार , ०७:१९:२० बजे

Sajhamanch
'

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

आइतवार, चैत १७, २०८१

जनकपुरधाम । धनुषाको जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ विन्धीमा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरुको पक्राउको माग गर्दै जनकपुर– जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा दर्जनौं सेल अश्रुग्यास प्रहार गरिएको छ ।

स्थानीयले ढुङ्गामुढा गर्दै प्रहरीलाई लखेटेका छन् । झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय समान्य घाइते भएका छन् । यद्यपि अहिलेसम्म विवरण आउन सकेको छैन ।

अहिलेसम्म कति सेल अश्रु ग्यास प्रहार भएको र घाइते भएको भन्ने विवरण एकिन नभएको धनुषाका प्रहरी उपरीक्षक एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए ।

घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो लगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् ।

घटनाको दुई साता पुग्दा समेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले आज बिहान ८ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।

प्रहरीले एकपटक बाटो खुलाए पनि पुन स्थानीय बासिन्दाले अवरुद्ध गरेको एसपी तिवारीको भनाइ छ ।

गत चैत १३ गते पनि आशुकी आमा अर्चनासहित स्थानीयले सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए । स्थानीयका अनुसार त्यस दिन प्रहरीले दुई दिनभित्र थप अपराधीहरूलाई पक्राउ गर्ने आश्वासन दिएपछि खुलाइएको थियो । यता एसपी तिवारीले त्यसदिन कुनै प्रकारको सहमति नभएको जिकिर गरे ।

छुरा प्रहार घटनामा संलग्न भनिएका केही व्यक्तिहरू फरार भएर भारतमा लुकेकाले पक्राउ गर्न नसकिएको एसपी तिवारीको भनाइ छ । उनले चुरा प्रहार घटनाका मुख्य दोषी धर्मेन्द्रलाई पक्राउ गरिसकेको र अन्यको खोजी कार्य जारी रहेको एसपी तिवारीले बताए ।

छ महिनाअघि श्रीमान् पप्पुको मृत्यु भएको थियो । उनका एक्ला छोरा गुमेपछि अर्चना सहाराविहीन बनेकी छन् ।

सम्बन्धित खबर