
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । हिजो अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हरायो ।
जीतका लागि १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर १६० रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ४८ रन बनाए । गुजरातका मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले समान दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए ।
गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो । मुम्बईको यो लगातार दोस्रो हार हो । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।
आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुनेछ ।