
इलाम । इलामको रोङमा विद्युत् सर्ट भई आगलागी हुँदा लाखौँको क्षति भएको छ । गएराति १०ः४० बजे रोङ गाउँपालिका– ३ चिण्डेपानी बस्ने तिलबहादुर भुजेलको टिनको छानो, काठ–टिनको बेरा भएको एक तले घरमा विद्युत् सर्ट भई अचानक आगलागी भएको हो ।
किराना पसल रहेको घरमा भएको आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट हुनुका साथै पसलमा रहेका किराना सामानहरू, अन्नपात,१ थान चेन सो मेशिन,१ थान ग्रयान्डर मेशिन ,तिलबहादुर भुजेलको नागरिकता, मोटरसाइकलको ब्लुबुक, लाइसेन्स,पसलमा रहेको नगद अन्दाजी ६ हजार तथा अन्य कागजपत्र जलेको पीडितले बताएका छन् ।
उक्त आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको इलाम प्रहरीले जनाएको छ । प्रहरी चौकी हर्कटेको प्रहरी टोली र स्थानीयको सहयोगमा राति ११ः३५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।