
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ ।
आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।
हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आरटीएफ) का कमाण्डर लगायत रहेका छन् ।
राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ । आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन् ।
पक्राउ परेका मध्येहरूबाट स्क्रिनिङ गरेर म्याद थप गराई अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये कसलाई कुन मुद्दा लगाउने भन्ने टुंगो लागिसकेको छैन ।
१५ गते भएको राजावादीको हिंसात्मक आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।