
काठमाडौं । प्रेस चौतारी नेपालले शुक्रबार राजावादीहरूको प्रदर्शनका क्रममा आक्रमणमा परी क्षति भएका सञ्चार माध्यको स्थलगत अवलोकन गरेको छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले आज ती सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन गरेको । सो क्रममा राजावादीहरूको आक्रमणमा परी घाइते भएका पत्रकारहरूको अवस्था बारे पनि जानकारी लिइएको थियो ।
सो अवसरमा अध्यक्ष पाण्डेले राजावादीहरूले सञ्चार माध्यमलाई आक्रमणको निशाना बनाएकोमा दुःख व्यक्त गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्ने बताए । उनले पूर्वराजाका समर्थकहरूको उद्दण्ड र हिंसात्मक कार्यको आलोचना गर्दै राज्यले अपनाएको संयमता कै कारण शुक्रबार ठूलो क्षति हुन नपाएको जिकिर गरेका थिए । पाण्डेले पत्रकारको सुरक्षाको लागि ध्यान दिन राज्य सम्बद्ध पक्षलाई आग्रह पनि गरेका छन् ।
सो क्रममा प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले सञ्चार माध्यमहरूमा त्रास सिर्जना गरेर राजावादीहरुले दक्षिणपन्थी शक्ति स्थापित हुने सपना देखेको बताए । यो सपना पूरा हुन नसक्ने बताउँदै लामाले अविचलित भएर आफ्नो पेसामा लाग्न पत्रकारहरूलाई आग्रह गरे ।
प्रेस चौतारीले राजावादीहरूको आक्रमणमा परेको कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, अनलाइन खबर लगायतका सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन गरेको हो ।
पूर्वराजाका समर्थकको आक्रमण परी एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो । रजकलाई उनीहरूले घरभित्र आगो लगाएर थुनिदिएका थिए । आन्दोलनकारीका नाममा कान्तिपुर टिभी, हिमालय टिभी र अन्नपूर्ण पोष्ट लगायतका सञ्चार माध्यमको कार्यालयमा आक्रमण भएको थियो ।
यसैबीच प्रेस चौतारी नेपालका नेताहरूले नेपाल पत्रकार महासंघले शनिबार बिहान माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभामा पुगेर आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । त्यहाँ पुगेर चौतारीका नेताहरूले निडरतापूर्वक खबर यात्रामा लाग्न सम्वद्ध पत्रकारहरुलाई आग्रह गरेका थिए ।
अवलोकनको क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा निकै ठूलो क्षति पुगेको पाइएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
यसैगरी अन्य सञ्चार माध्यम र तिनका उपकरणमा क्षति पुगेका तथा पत्रकारहरू घाइते भएका पाइएको पाण्डेले बताए । ‘हिमालय टिभीको गाडी तोडफोड भएको छ, गाडीभित्र रहेका तीनजना सञ्चारकर्मी घाइते भए पनि ज्यान जोगाउन सफल भएका छन्, आज उनीहरूले घटना विवरण सुनाउँदै मन नै चिसो भयो, आन्दोलनकारीले बन्दुक खोसेको तस्बिर खिच्ने अनलाइनखबरकर्मी दिनेश गौतमको खुट्टा भाँचिएको छ’, अध्यक्ष पाण्डेले बताए ।
घटनाक्रम हेर्दा पूर्वराजाका समर्थकहरूको हिजोको हिंसा र आतङ्क सुनियोजित देखिएको पाण्डेको टिप्पणी छ । ‘हिजोको घटना सुनियोजित र प्रायोजित थियो, राज्यले सावधानी र संयमता अपनाएका कारण निकै ठूलो मानवीय क्षति हुने अवस्था टरेको छ’, उनले भनेका छन् ।