
काठमाडौँ। सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालको २०औं साधारण सभा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै काठमाडौंमा सम्पन्न भएको छ ।
प्रतिष्ठानका अध्यक्ष अर्जुन राईको अध्यक्षतामा सम्पन्न २०औँ साधारण सभाबाट पुनः अर्जुन राईलाई नै अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ ।
एकजना उपाध्यक्ष र तीनजना सदस्य पछि मनोनयन गर्ने गरी १५ सदस्यीय कार्यसमिति बनाइएको हो। समितिको उपाध्यक्षमा टंकप्रसाद बराल, महासचिवमा लोकनाथ सुवेदी, सचिवमा अर्जुन भट्टराई र कोषाध्यक्षमा सुन्दरमणि सुवेदीलाई जिम्मेवारी दिइएको छ।
यस्तै सुखानी प्रतिष्ठानका सदस्यहरूमा डाक्टर गेहनाथ पौडेल, बृखबहादुर प्रधान, बाबुराम घिमिरे, जानुका सिटौला, कवि पाठक र विष्णुकुमार घिमिरे सर्वसम्मत चयन भएका छन् ।
दिप प्रज्ज्वलन गरी उद्घाटन गरिएको साधारण सभामा मन्तव्य राख्दै नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गणतन्त्रलाई संस्थागत गर्न शहीदले देखाएको बाटो अवलम्बन गर्दै उनीहरूको योगदानलाई बिर्सन नहुने बताए ।
काठमाडौँमा चैत १५ गते राजावादीहरूको नाममा अराजक व्यक्तिहरूले गराएको हिंसात्मक जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मन्त्री दाहालले कथित राजतन्त्रवादीहरू कस्ता गतिविधि र क्रियाकलापमा उद्यत रहेछन् भन्ने जनताले प्रष्टसँगले थाहा पाएको जिकिर गरे ।
सुखानी स्मृति प्रतिष्ठान नेपालको सदस्यको रुपमा आफूले लामो समयसम्म यसको भौतिक विकास एवं प्रचार प्रसारमा खर्चिएको स्मरण गर्दै मन्त्री दाहालले यसको स्थापनापछि दुईवटा काम सँगसँगै भइरहेको प्रष्ट पारे । उनका अनुसार शहिद स्मृति प्रतिष्ठानको स्थापनाले झापा आन्दोलनका पाँचजना शहीदहरूप्रति चिरकालसम्म स्मृति रहिरहनेछ भने प्रतिष्ठान मार्फत सिर्जनात्मक कामहरू गरेर यसलाई स्वदेश र विदेशसम्म पर्यटकीय क्षेत्रको रुपमा पहिचान पनि दिएको छ ।
आफ्नो मन्तव्यमा मन्त्री दाहालले देश फेरि अँध्यारो युगतर्फ फर्किन नसक्ने जिकिर पनि गरेका थिए । उनले शहीदहरुको बलिदानीबाट प्राप्त जनाधिकार र स्वतन्त्रता कसैले खोस्न नसक्ने दृढता व्यक्त गरे । कसैले उदण्डता देखाउँदैमा प्राप्त उपलब्धिहरुलाई नागरिकले खोस्न नदिने समेत मन्त्री दाहालको भनाइ थियो ।
‘यो गणतन्त्र र स्वतन्त्रता शहीदहरुको बलिदानी र लाखौं नागरिकको संघर्षबाट प्राप्त भएको हो’ नेकपा एमालेका पोलिटव्युरो सदस्यसमेत रहेका मन्त्री दाहालले भने, ‘शहीदहरुले देखाएको बाटोमा हिँड्नु र प्राप्त उपलव्धिहरुको रक्षा गर्नु हामी सवैको दायित्व हो ।’
देशमा केही भएन, गणतन्त्रले केही उपलब्धि दिएन भनेर नागरिकलाई निराश पार्न गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले गणतन्त्र पछि नै विकास निर्माणले गति लिएको र नागरिकहरु राजनीतिक रुपमा पनि अधिकार सम्पन्न भएको बताए ।
साधारण सभा समारोहमा कार्यवाहक महासचिव अर्जुन भट्टराईले प्रतिष्ठानको प्रगति तथा सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष सुन्दरमणि सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ती दुवै प्रतिवेदन माथि समीक्षात्मक टिप्पणी गर्दै पूर्व प्रदेश सांसद तथा प्रतिष्ठानका सदस्य बृखबहादुर प्रधानले उद्यान क्षेत्र र शहादतस्थल संरक्षणका लागि प्रतिष्ठानले अझै थप काम गर्न बाँकी रहेको सुझाव दिए।
उक्त विषयहरूमाथि प्रतिष्ठानका अध्यक्ष अर्जुन राईले प्राप्त सुझावहरू मननीय रहेकाले कार्यान्वयन गर्ने विश्वास दिलाउँदै साधारण सभाबाट चयन हुने नयाँ नेतृत्वले सोको लागि पहल गर्ने बताए ।
प्रतिष्ठानका कार्यवाहक महासचिव अर्जुन भट्टराईले सञ्चालन गरेको सो साधारण सभा समारोह मा आमन्त्रित अतिथि एवं सहभागीहरूलाई गेहनाथ पौडेलले शाब्दिक स्वागत गरेका थिए । साधारण सभामा झापा इलाम लगायतका प्रतिष्ठानका सदस्यहरू एवं लब्ध प्रतिष्ठित व्यक्तित्वहरू माननीय प्रा डा के आर खम्बु, शहीद पत्नी एवम् पूर्व सांसद विश्वेश्वरा दाहाल, डाक्टर मोहन शर्मा लगायतको आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु राज्यका विभिन्न जिम्मेवारीमा नियुक्त भएकोमा प्रतिष्ठानद्वारा बधाई सम्मान अर्पण गरिएको थियो । प्रतिष्ठानका सदस्य देवेन्द्र दाहाल नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकोमा, महासचिव हर्कराज राई संघीय संसद सचिवालयको सचिव र कार्यवाहक महासचिव अर्जुनकुमार भट्टराई गैर सरकारी संस्था महासङ्घको केन्द्रीय अध्यक्ष बनेकोमा ढाका टोपी लगाएर प्रमाणपत्र प्रदान गरी बधाई अर्पण गरिएको थयो ।
झापा कम्युनिष्ट आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने शहीदहरुको स्मृतिमा २०५६ सालमा सो प्रतिष्ठान स्थापना भएको हो । २०२९ साल फागुन २१ गते झापाको किसान आन्दोलनका नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुईकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई ईलामको सुखानीमा लगि तत्कालिन शासकले गोली हानी हत्या गरेको थियो । उनीहरुकै सम्झनामा स्थापित प्रतिष्ठानले झापाको सालबारीमा सुखानी पार्क निर्माण गर्नुका साथै शहादत स्थलको पनि संरक्षण गर्दै आएको छ ।