
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले गरेको आक्रमण र हत्याको कानून बमोजिम कारबाही हुने बताएका छन्।शनिवार नेकपा (एकीकृत समाजवादी)को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनधनको क्षति गर्नेहरूमाथि कानून बमोजिम अनुसन्धान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।
राजावादीहरुले तीनकुनेमा शुक्रवार गरेको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको छ भने सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड गरिएको छ ।
आक्रमणकारीहरुले शुक्रबार नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालयमा तोडफोड गरी आगो लगाएका थिए। सोही अनुगमन एवं निरीक्षणका क्रममा आलोकनगर पुगेका गृहमन्त्री लेखकले शुक्रवारको राजावादीहरुले प्रदर्शनका नाममा गरेको हिंसा राजनीतिक दर्शन, आदर्श, सिद्धान्त, मान्यता,चेतनासँग टाढाटाढाको पनि साइनो नरहेको जिकिर गरे।
शुक्रवारको आन्दोलन प्रदर्शनभन्दा बढी आपराधिक घटना भएको उनको भनाइ छ। आततायी र अमानवीय ढंगले घटना गराइएका भन्दै गृहमन्त्री लेखकले आन्दोलनकारीले मानिसहरू घरभित्र छन् भनेर थाहा हुँदाहुँदै घरमा आगो लगाउँदा एक जना पत्रकारको ज्यान गएको र नागरिकको सुरक्षार्थ प्रहरीले बल प्रयोग गर्दा अर्का एक जनाको निधन भएको बताए।
गृहमन्त्री लेखकले शुक्रवार राजावादीहरुले सञ्चार गृह,छानि छानि गणतन्त्रवादी विचार राख्ने राजनीतिक दलका नेताका घर र पार्टी कार्यालयमा आक्रमण गर्ने, निजी तथा सरकारी सम्पति ध्वस्त गर्ने, शपिङ कम्प्लेक्समा आक्रमण गरेको बताए। उनीहरूमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने उनले बताए।