२०८१ चैत १८, सोमवार , ११:०९:१८ बजे

Sajhamanch
'

प्रेस चौतारी नेपालद्वारा सञ्चारकर्मी हत्याको कडा शब्दमा निन्दा

शुक्रवार, चैत १५, २०८१

झापा । कथित राजावादी समूहको नाममा आज काठमाडौंमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार संकलनमा रहेका सञ्चारकर्मीको ज्यान गएको तथा सञ्चार माध्यममाथि आक्रमण भएको घटनाले प्रेस चौतारी नेपाललाई स्तब्ध बनाएको जनाएको छ।

काठमाडौंको तीनकुने क्षेत्रमा प्रदर्शनकारीले हिंसात्मक ढंगले एक निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलाबाट समाचार छायांकन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको घटनाले आफ्नो संगठन स्तब्ध भएको जनाएको हो । प्रदर्शनकारीहरूले अन्नपूर्ण पोस्ट दैनिकमा आगजनी प्रयास गरेका, कान्तिपुर टेलिभिजनमा ढुंगामुढा प्रहार गरेका  तथा हिमालय टेलिभिजनको गाडी तोडफोड गरेको विज्ञप्तिमा जनाइएको छ ।

शान्तिपूर्ण प्रदर्शन नागरिक अधिकार भए तापनि आन्दोलनको नाममा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई लक्षित गरी गरिएका यस्ता अराजक गतिविधिहरू गम्भीर चिन्ताको विषय हुन्। आज सम्पन्न प्रेस चौतारी नेपालको प्रथम केन्द्रीय समिति बैठकले सो घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। साथै, घटनामा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

जनताको बलिदानी, संघर्ष र त्यागबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई अस्थिर पार्ने यस्ता अराजक गतिविधिहरूलाई तत्काल निष्तेज गर्न सरकारलाई आग्रह गर्दै प्रेस चौतारी नेपालले पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्न माग गर्दछ। संविधान प्रदत्त प्रेस स्वतन्त्रताको सम्मान गर्दै कुनै पनि पत्रकारलाई समाचार संकलन, सम्प्रेषण तथा प्रकाशनमा अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षहरूलाई अपील गर्दछ विज्ञप्तिमा भनिएको छ ।

प्रेस चौतारी नेपालले काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको मृत्यु तथा सञ्चार माध्यममाथि आक्रमणको घटनालाई गम्भीर रूपमा लिँदै कडा आपत्ति जनाएको छ। सम्बन्धित दोषीहरूलाई कारबाही गर्न सरकारलाई आग्रह गर्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न अपील गरिएको छ।

सम्बन्धित खबर