
काठमाडौं । विरोधका बीच राष्ट्रिय सभाको बैठक चलाउने तयारी भएको छ । यसका लागि सत्तापक्षले सभाध्यक्ष नारायण दाहालमाथि दबाब बढाएका छन् ।
विगतमा पनि विरोधका बीच संसद्को कामकारबाही अगाडि बढेको भनेर सत्तापक्षले सभाध्यक्षमाथि दाबाब बढाएका हुन् । सभाध्यक्ष दाहालले भने सहमतिमा आउन दलहरूलाई आग्रह गरिरहेका छन् ।
विपक्षी दलहरूले विरोधका बीच सभा अगाडि बढे बहिष्कार गर्ने चेतावनी दिएका छन् । सत्तापक्षले विपक्षीले बहिष्कार गरेता पनि सभा अगाडि बढाउनुपर्ने दबाब दिएका हुन् ।
प्रतिस्थान विधेयक पास गर्नुपर्ने समयको दबाब रहेको भन्दै उनीहरूले सभा विरोधकाबीच अगाडि बढाउन समेत आवश्यक रहेको तर्क गरिरहेका छन् ।
शुक्रबार विभिन्न ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची छ । यी विधेयकहरू १९ चैतसम्म पारित भएर पनि राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ ।
सत्तापक्ष आजै ५ वटै विधेयक राष्ट्रिय सभाबाट पारित गरेर प्रतिनिधिसभामा पठाउनुपर्ने अडानमा छन् ।
विपक्षी दलहरू नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडानमा छन् ।
संसद् सचिवालयका अधिकारीहरूका अनुसार शुक्रबार पहिलो बैठक स्थगित गरेर दोस्रो बैठक चलाउने र त्यसमा विपक्षीहरूले विरोध गरेता पनि सभा चलाउनेबारे छलफल भएको छ ।
माओवादी केन्द्रकी सांसद रेणु चन्द विपक्षीको विरोधका बीच सभा अगाडि बढे आफूहरूले सभा नै बहिष्कार गर्ने बताउँछिन् ।
उनी भन्छिन्, ‘विपक्षी विना नै संसद् चलाएर अगाडि बढ्ने कुराको नजिर राख्ने हो भने त्यो अर्कै कुरा हो । नत्र प्रधनमन्त्रीले जवाफ दिएर वातावरण सहज बनाउनु नै उचित विकल्प हो ।’