
काठमाडौँ । काठमाडौँमा आज गणतन्त्रवादी र राजतन्त्रवादीले छुट्टा(छुट्टै विरोध प्रदर्शन कार्यक्रम गर्दैछन्। गणतन्त्रको पक्षमा समाजवादी मोर्चाले र राजतन्त्रको पक्षमा राजतन्त्रवादी दल र समूहहरूले विरोध प्रदर्शन गर्न लागेका हुन्।समाजवादी मोर्चाले ‘बेथिति र प्रतिगमन’ विरुद्ध शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ। काठमाडौंका माइतीघर, कुपण्डोल, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्ति बाटिका, मैतीदेवीलगायत क्षेत्रबाट जुलुश निकाल्ने समाजवादी मोर्चाको तयारी छ।
जुलुशपछि भृकुटीमण्डपमा सभा हुने छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । राजतन्त्र पुनर्स्थापनाविरुद्ध र सरकारले गरेको गलत कामको बिरोध गर्न मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको हो ।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सभामा एकलाखभन्दा बढी सहभागी हुने दाबी गरे । मोर्चामा रहेका दलहरुले राजधानी वरिपरिका जिल्लाबाट प्रदर्शनकारीलाई ल्याउने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले सवारीसाधनको व्यवस्था समेत मिलाएका एक नेताले बताए । तराई मधेश जागरण अभियान चितवनमा रोकेर शक्ति प्रर्दशन गर्न माओवादी अध्यक्ष दाहाललगायत नेताहरु काठमाडौं फर्केका छन् ।
राजतन्त्रवादीहरूले भने काठमाडौँको तीनकुनेमा प्रदर्शन राखेका छन्। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले राजतन्त्रवादीहरूलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्न ठाउँ तोकेको थियो। दुवै शक्तिहरूले एकैदिन प्रदर्शनका कार्यक्रम राखेपछि सुरक्षा सतर्कता उच्च बनाइएको छ। प्रदर्शनका क्रममा दुई समूहको भेट नहुने गरी प्रबन्ध मिलाइएको प्रहरीले जनाएको छ।राप्रपा, राप्रपा नेपाल लगायत दलहरूसहितको राजतन्त्रवादीहरूको प्रदर्शनका लागि दुर्गा प्रसाईंलाई कमाण्डर तोकिएको छ भने दुवैले आफ्नो आ-आफ्नो शक्ति प्रदर्शन ठूलो हुने दाबी गरेका छन्।