
मेचीनगर । झापा जिल्ला अदालतका न्यायँधीश तेजबहादुर खड्काले मेचीनगरका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा प्रशिक्षण दिएका छन् ।
नगरपालिकाको न्यायिक समितिले बुधबार र बिहीबार आयोजना गरेको मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई कानुनी प्रक्रियाका बारेमा उनले सचेतनामुलक प्रशिक्षण दिएका हुन् ।
मेचीनगरका १५ वटै वडाका ८१ जना मेलमिलापकर्ता, १५ जना वडाध्यक्ष र १५ जना वडा सचिवहरुलाई न्यायधीश खड्का, प्राकृतिक स्रोत द्वन्द रुपान्तरणका श्रोतव्यक्ति संगीता थापा र नगरपालिकाका कानुनी सल्लाहकार इन्द्रकमल प्रधानले प्रशिक्षण दिएका हुन् ।
हिजो चैत १३ गते वडा नम्बर १ देखि ८ नम्बर सम्मका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई र आज वडा नम्बर ९ देखि १५ नम्बर वडाका मेलमिलापकर्ता, वडाध्यक्ष र वडा सचिवहरुलाई मेलमिलाप सम्बन्धी कानुनी प्रक्रियाका बारेमा जानकारी गराइएको न्यायिक समितिका अधिकृत इन्दिरा खरेलले बताइन् ।
सचेतनामुलक कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मेचीनगर नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक मीना पोखरेल उप्रेतीले अध्यक्षता गर्दै न्यायिक समितिमा आएका मुद्धाहरुको कानुनी प्रक्रियाका विषयमा धारणा राखेकी थिइन् ।