
झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी चैत ३० गते झापाको दमकमा बृहत जनसभा गर्ने भएको छ ।
जनसभामा १ लाख जनता सहभागी गराउने तयारी रहेको नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले जानकारी दिएका हुन् ।
आज दमकमा प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै नेता राईले प्रतिगामीहरुलाई टाउको उठाउन नदिन एमालेले बृहत जनसभाको तयारी गरेको प्रष्ट्याएका हुन् ।
जरा अभियान मार्फत वडा, टोलसम्म कार्यक्रम सञ्चालन गरिरहेको एमालेले प्रतिगामीलाई तह लगाउँदै प्राप्त उपलब्धी रक्षाका लागि सक्षम रहेको नेता राईको धारणा थियो । उनले नेकपा एमाले र नेपाली कांग्रेस उपलब्धी रक्षाका लागि चुप लागेर नबस्ने पनि प्रष्ट पारेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेता राईले मुलुकमा राजनीतिक अस्थिरता र प्रतिगामी तत्वहरु सल्वलाएकाले जनतालाई सचेत गराउन आवश्यक रहेको बताए । जादुमयी नम्बर, राजावादी र प्रतिगामीहरु मुलुकको विकल्प हुन नसक्ने उनको दावी छ ।
एमालेको मिसन ८४ र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई कमजोर बनाउन प्रतिगामीहरुले अराजक गतिविधि बढाइरहेको उनको ठहर छ ।
नेकपा एमाले अहिले पार्टी सुदृढ एवम् बलियो आधार तयार गर्न परिचालन भइरहेको बेला अराजक तत्वहरुले मुलुकमा अवाञ्छित गतिविधिहरु गरेको उनको आरोप छ ।
बृहत जनसभामा २ हजार स्वयमसेवक परिचालन गर्ने तयारी गरिएको छ । जनसभामा नेकपा (एमाले)का नेता, कार्यकर्ता र सदस्यहरु परिचालित हुनेछन् । जनसभा तयारीका लागि नेता राईको संयोजकत्वमा जनपरिचालन कमिटी बनाइएको छ ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षमा सम्पन्न पत्रकार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ताहरको सहभागिता थियो ।