२०८१ चैत १६, शनिवार , ११:१५:१८ बजे

Sajhamanch
'

अगाडि बढेको समाज पछाडि फर्किँदैन : गृहमन्त्री लेखक

बिहिवार, चैत १४, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने बताएका छन्।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ कार्यसमितिले भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बिहीबार गृहमन्त्री लेखकले अबको समय लोकतान्त्रिक व्यवस्थाबाट पछाडि फर्कने समय नभएको भन्दै लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने जिकिर गरे।

‘मानव समाज विकासको सिद्धान्तले के भन्छ भने विकास अगाडि बढ्छ पछाडि फर्किँदैन, हामीले निरंकुशता फालेर, तानाशाही व्यवस्था फालेर लोकतान्त्रिक व्यवस्थामा आएका हौं, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समाज अगाडि बढिसकेपछि फेरि पछाडि फर्किएर निरंकुशता र तानाशाही व्यवस्थातर्फ जान्छ भन्ने कुरा समाज विकासको विज्ञानले मान्दैन,’ गृहमन्त्री लेखकले भने।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका लेखकले संसदमार्फत् सरकार परिवर्तन हुने कुरा लोकतन्त्रमा भइरहने जनाउँदै लोकतान्त्रिक मूल्य र मान्यतामा अभ्यस्त भइसकेको समाज फेरि फर्किएर निरंकुशता र तानाशाहीतर्फ नजाने दावी गरे।

‘लोकतान्त्रिक व्यवस्थामा कहिले कुन पार्टीले जित्ने कहिले कुन पार्टीले हार्ने भन्ने कुरा निरन्तरताको कुरा हो। जनताका बीचमा जाने र जनताले विश्वास गर्ने पार्टीहरूले नै सरकार बनाउने हो अब व्यवस्था फर्किएर पछाडि जाँदैन,’ उनले भने।

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा कार्यकर्ता सोधेको प्रश्नमा उनले आफू यही सरकारको मन्त्री भएकोले सरकारले गरेको निर्णयलाई बोकेर हिँड्ने बताए।

सम्बन्धित खबर