
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन् ।
भैरहवाको एक्स्ट्राटेक ओभल मैदानमा आज भएको खेलमा पुलिसलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । प्रतियोगितामा पुलिसको यो पहिलो हार हो ।
पुलिसले दिएको १४९ रनको लक्ष्य आर्मीले ६ विकेट गुमाएर ५४ बलअघि नै भेटायो । आर्मीका विवेक यादवले नटआउट ४१ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको पुलिसले ४१ ओभर ४ बलमा १४८ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रन बनाए ।
आर्मीका शाहब आलमले ४ विकेट लिए । योसँगै शाहब प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो बलर बनेका छन् ।
उनले ४७ खेलमा एक सय विकेट पूरा गरे । यसअघि नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका थिए । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
प्रतियोगितामा १० वटा टोली सहभागी भएकामा पुलिस र आर्मी शीर्ष २ मा रहेर फाइनल खेल्ने भएका हुन् । फाइनल खेल आउँदो शनिवार हुनेछ ।