२०८१ चैत १६, शनिवार , ०६:२४:३५ बजे

Sajhamanch
'

प्रहरीको सेटिङमा काँकडभिट्टा नाकामा तस्करी धन्दा, राजश्व अनुसन्धानको छापा

बिहिवार, चैत १४, २०८१

झापा । प्रहरीकै सेटिङमा भन्सार छलेर भित्राइएको ठूलो परिमाणको लत्ताकपडा र मोटरपार्टस सशस्त्र प्रहरीले राजश्व अनुसन्धानको टोली बोलाएर छापा मार्न लगाएको घटना बाहिरिएको छ।

राजश्व अनुसन्धान कार्यालय इटहरी र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वाटर झापाको संयुक्त टोलीले मेचीनगर नगरपालिका–६ स्थित तुर्केनीको दुर्गा मन्दिर नजिकैबाट अन्दाजी एक करोड मूल्य बराबरको लत्ताकपडा तथा मोर्टर पार्टस् बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा, बोर्डर आउट पोस्ट नकलबन्दा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र नकलबन्दा प्रहरी चौकी लगायतको सेटिङमा तस्करीको लाइन खुलाएर भित्राइएको सो मूल्य बराबरको सामान बरामद गर्न सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोली बोलाएर दुईवटा घरमा छापामा मारेका थिए।

राजश्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत विदुर गौतम र गणका डीएसपी मदनकुमार रसाइलीको नेतृत्वमा खटिएका संयुक्त टोलीले मंगलबार बिहान करिब ६ बजे मेचीनगर–६ स्थित झिल्केघाम टोल निवासी मदन पोखरेल र सोही ठाउँका उत्तम ठकुरीको घरमा छापा मारेका थिए।

पोखरेलको घरबाट ३९ बोरा र ठकुरीको घरबाट २० बोरा गरी ५९ बोरा सामान बरामद गरिएको थियो। बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइसकेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेक्वा झापाका डीएसपी सुमन पोखरेले बताए ।

कारोबारी स्रोतका अनुसार सो सामान स्थानीय महिला कारोबारी नानु तामाङ लगायत कारोबारीहरूको रहेको जनाएको छ। कारोबारी तामाङले त्यहाँबाट तस्करीको काम गर्ने भनी सशस्त्र र नेपाल प्रहरीलाई मासिक रूपमै लाइन बुझाएर काम गर्दै आइरहेकी थिइन्। उनले सो नाकाबाट भित्राएको सामान पोखरेल र ठकुरीको घरमा भण्डारण गरी राखेका थिए।

ती दुईवटा घरमा ठूलो मात्रामा सामान रहेको खबर सशस्त्रको माथिल्लो निकायमा पुगेको थियो। माथिको आदेशपछि २ नम्बर गणले बिहानको ४ बजेदेखि दुईटा घरलाई निगरानी गर्दै घेरा हालेका थिए। आवश्यक कानुनी प्रक्रियाका लागि सशस्त्रले राजश्वलाई बोलाएर छापा मार्न लगाएको स्रोतको भनाई छ।

स्थानीय एक कारोबारीले भने, ‘यता खटिएका सबै सुरक्षाकर्मीलाई मिलाएर काँकडभिट्टा क्षेत्रबाट ठूलै काम भइरहेको छ, ती दुईटा घरमा सामान रहेको सूचना माथिसम्म पुगेपछि यहाँका सशस्त्रले राजश्व अनुसन्धानलाई बोलाएर छापा मार्न लगाएको हो।’

स्रोतका अनुसार सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाका सादा पोसाकमा खटिएका सशस्त्र हवल्दार केशव गुरुङ, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाका सादा पोसाकमा खटिएका असई लोकबहादुर पोखरेल, इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट सादा पोसाकमा खटिएका हवल्दार तेजे चौलागाई र सहायक हवल्दार भरत कट्टेललाई मासिक रुपमा लाइन बुझाएर कारोबारीहरूले खुलेआम तस्करी धन्दा चलाइरहेको छ। सशस्त्र हवल्दार गुरुङले गुल्म, गणदेखि बाहिनीसम्मको लाइन उठाएर बुझाउने काम गर्दै आइरहेको कारोबारी स्रोतको दाबी छ।

सादा पोसाकमा खटिएका सशस्त्र र नेपाल प्रहरीकै सेटिङ मेचीनगर-६ स्थित पुरानो मेची पुल माथि र मेचीनगर नगरपालिका–७ सतिघट्टाको गैरीगाउँबाट अहिले पनि ठूलो मात्रामा लत्ताकपडा, किनारा, लाइटर, कवाडी लगायतको काम भइरहेको छ।

सो नाकाहरूबाट उषा, कला, सीता, पिन्टु, राजेश लगायत कारोबारीले भन्सार छलेर दिनहुँ लाखौँ मूल्य बराबरको सामान भित्राउने र पठाउने काम गरिरहेको छ। उनीहरूले त्यहाँबाट चलाएको लाइन खर्च बापत ड्युटीदेखि इन्चार्जसम्मलाई बुझाउने गरेको स्रोतको दाबी छ।

केही समयअघि मात्र सतिघट्टा नाकाबाट भित्राइएको भन्सार छलीका सामान सशस्त्रले राजमार्गमा बरामद गर्न खोज्दा पिन्टु साहले घेराबन्दी गरी पिकअपसहितको सामान लिएर फरार भएका थिए। त्यसपछि सशस्त्रले प्रहरीमा उजुरी हालेर कारोबारी साहलाई पक्राउ गर्न लगाएर अभद्र व्यवहारमा मुद्दा चलाउन लगाएका थिए। कारोबारी साह दुई साता इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा बसेर हाल धरौटीमा रिहा भएका छन्।

सम्बन्धित खबर