
मनाङ । बेँसीशहर–चामे खण्डमा बस सञ्चालनका लागि परीक्षण गर्न मनाङको सदरमुकाम चामेसम्म पहिलो पटक बस पुगेको छ ।
लमजुङ सदरमुकाम बेँसीसहरबाट यात्रु लिएर बेँसीशहर–पोखरा सञ्चालन हुने ना. ६ ख ९५७९ नम्बरको बस पहिलो पटक सदरमुकाम चामे पुगेको हो । सफल रूपमा बस चामे पुगेपछि मनाङवासीमा खुशी छाएको छ ।
आउँदो नयाँ वर्षदेखि मनाङ सदरमुकामसम्म नियमित रूपमा बस सञ्चालन गर्ने तयारी भएसँगै निजी क्षेत्रको एकल प्रयासमा चामेसम्म बस पुर्याइएको बस सञ्चालक सुरेश घिमिरेले बताए। मनाङको सडक साँघुरो र अधिकांश भाग कच्ची भए पनि अनुभवी चालक भए बस सञ्चालनमा समस्या नहुने उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लामा यात्रुवाहक बस सञ्चालनको तयारी थालेको छ । डेढ दशकअघि मोटर सञ्चालन हुन थालेको मनाङमा हालसम्म बोलेरो, टाटासुमोजस्ता साना गाडीले मात्र यातायात सेवा दिइरहेका छन् ।
बस सञ्चालनमा ल्याउन सकिएमा स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ । साथै महँगो भाडाको मारमा परेका स्थानीय र पर्यटकलाई आर्थिक भार कम हुनेछ ।
बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीशहरबाट खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र भएको छ । खुदीभन्दा माथि चामेसम्म ठाउँठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक रहेकामा साँघुरा घुम्तीमा मर्मत गरी बस सञ्चालनको तयारी गरिएको मनाङ प्रशासनले जनाएको छ ।