
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ ।
प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको हो । अहिले २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्दछ ।
अब १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी प्राधिकरणले त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिश गर्ने निर्णय गरेको छ ।
नियमन आयोगले स्वीकृति दिएपछि यो निर्णय लागू हुनेछ । साना विद्युत प्रयोगकर्ताको मिटर रिडिङ ३ महिनामा एक पटक गर्ने पनि बैठकले निर्णय गरेको छ । अहिले मासिक रूपमा रिडिङ हुने गरेको छ ।