
काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
बागमती गाउँपालिका-४ का अध्यक्ष रामकुमार लामाका अनुसार मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ ।
स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको उनले बताए । आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध गरेका छन् ।
वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् ।
‘अहिले हामी आगो निभ्याउन व्यस्त छौं । आगो बस्ती पस्ने जोखिम भएकोले यतिखेर धेरै कुरा गर्न सक्ने अवस्था छैन,’ वडाध्यक्ष लामाले जानकारी दिए ।
प्युटारका स्थानीय लालबहादुर भोम्जन सामुदायिक वनसँगै सटेको बस्ती जोखिममा रहेको बताउँछन् । स्थानीयको सक्रियतामा वनको डढेलो बस्ती आउन नदिनका लागि पातपतिङ्गर फालेर ‘फायर लाइन’ बनाउने काम भइरहेको उनले बताए ।
प्युटारको गढी भञ्ज्याङ र चौकीटोल क्षेत्रमा बढी जोखिम भएकोले सजगता अपनाइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए ।
उनले भने, ‘वनमा लागेको डढेलो बस्तीमा आउन नदिन सजगता अपनाइएको छ । वडाबाट सर्वसाधारणलाई सचेत रहन र आगो निभाउनका लागि आह्वान गरिएको छ । जनप्रतिनिधि लगायत स्थानीय आगो निभाउने कार्यमा खटिएका छन् ।’
हेर्नुहोस् वडाको सूचना :