२०८१ चैत १५, शुक्रवार , १०:०३:०७ बजे

Sajhamanch
'

६ घण्टासम्म नियन्त्रणमा आएन इटहरीको आगलागी, १२ वटा दमकलले निभाउँदै

बुधवार, चैत १३, २०८१

विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, अहिले आगोलागीको नियन्त्रण प्रयास भइरहेको छ । उनका अनुसार लगभग ८० प्रतिशत आगो नियन्त्रणमा आए पनि पूर्ण रुपमा नियन्त्रण भने भइसकेको छैन ।

प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको हो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितले आगो नियन्त्रण गरिरहेका छन् । ‘आगलागीको कारण खुलिसकेको छैन,’ प्रजिअ अधिकारी मिश्रले भने ।

उनका अनुसार उक्त प्लाजामा फसेकाको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको थियो । उक्त प्लाजाको चौथो तलामा आगलागी भएको थियो । सोही प्लाजाको सातौं तलामा फसेका ११ जनाको उद्धार गरिएको प्रजिअ मिश्रले बताए ।

उनका अनुसार ३ जना महिला र ८ जना पुरुषको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये एकजना सामान्य घाइते भएका थिए । उनको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको उनले बताए । आगलागी नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको छ ।

इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका ,रामधुनि नगरपालिका ,धरान उपमहानगरपालिका ,बेलबारी नगरपालिका, इनरुवा नगरपालिका, बराहक्षेत्र नगरपालिका, विराटनगर महानगरपालिका २, प्रदेश प्रहरी कार्यालय विराटनगर १, देवानगंज नगरपालिका १ गरी जम्मा १२ वटा दमकल परिचालन भएको सुनसरी प्रहरीका एसपी सुमन तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित खबर