२०८१ चैत १५, शुक्रवार , ०३:३९:१३ बजे

Sajhamanch
'

शहीद विश्वनाथ मार्गमा कालोपत्रे गर्न सुरु गरिँदै

बुधवार, चैत १३, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले गौरवको योजनामा समावेश गरेको शहीद विश्वनाथ मार्गको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको छ ।

विश्व बैंकको आयोजना अन्तरगत काँकरभिट्टाको भट्टराई चोक नजिकदेखि बाहुनडाँगी बजारसम्मको साढे ८ किलोमिटर सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु भएको हो ।

विगतमा सूर्योदय मार्ग रहेको सो सडकको नाम शहीद विश्वनाथ घिमिरेको नाममा परिवर्तन गरी शहीद विश्वनाथ मार्गको रुपमा सडक विस्तार सुरु गरिएको हो ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द बुढाथोकीले काँकरभिट्टादेखि बाहुनडाँगीसम्म साढे आठ किलोमिटर ड्रेनसहित गुणस्तरीय सडक बन्ने बताए । उक्त सडक निर्माणका लागि नगरबासीलाई समन्वय गरिदिन आग्रह पनि गरेका छन् ।

मेचीनगरका दुईवटा ठूला सडकहरुमध्ये शहीद विश्वनाथ मार्गको ठेक्का कनकाई इन्टरनेशनल विल्डर्स प्रालिले पाएको छ । नगरपालिकाका ईन्जिनियर जीवन भट्टराईले गत बैशाखमा सम्झौता गरेर उक्त कम्पनीलाई ठेक्का दिइएको बताए ।

आजदेखि कालोपत्रे गर्न सुरु गरिएको सो सडकको ८०० मिटर खण्ड पहिलो चरणमा कालोपत्रे हुने ईन्जिनियर भट्टराईले बताए । क्रमशः सबै खण्ड कालोपत्रे हुँदै जाने उनको भनाई छ ।

ईन्जिनियर भट्टराईका अनुसार आगामी १५ जुलाई, सन् २०२५ मा काम सम्पन्न गर्ने गरी विश्वनाथ मार्गको ठेक्का ३० करोड ८७ लाख ५७ हजार ९१८ रुपैयाँ २० पैसामा सम्झौता गरिएको छ ।

निर्माण सुरु गरिएको क्षणमा नगर प्रमुख बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, ६ नम्बर वडाका वडा सदस्यहरु ध्रुबकुमार राई र भविन्द्रराज सुब्बाले अवलोकन गरेका छन् ।

यस्तै नगरपालिकाको गौरवको योजना अन्तरगत नै विश्व बैंकको सहयोगमा शहीद विरेन मार्ग धुलाबारीदेखि मेचीनगर–९ को थोप्लेविरानसम्म चार दशमलव ८ किलोमिटर सडक निर्माण हुँदैछ ।

उक्त निर्माणको ठेक्का एनएनटी डेभलोपर भारतको पटना कम्पनीले करिव ८७ करोडमा लिएको छ । त्यहाँको पनि कालोपत्रे गर्न काम अन्तिम चरणमा पुगेको छ ।

सम्बन्धित खबर